मनाङका स्थानीय तहलाई ३७ करोड ३६ लाख रुपैयाँ बजेट

मनाङ । हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई संघीय सरकारबाट ३७ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई संघ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो ।
सबैभन्दा बढी मनाङ प्रवेश पालिका नासों गाउँपालिकालाई १९ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । चामे गाउँपालिकालाई १६ करोड ९७ लाख रुपैयाँ, मनाङ ङिस्याङ गाउँपालिकालाई १६ करोड ४४ लाख रुपैयाँ र नार्पाभूमि गाउँपालिकालाई १४ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन भएको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिए ।
संघीय सरकारले सशर्त, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ । संघ सरकारले रणनीतिक मनाङको मेरुदण्ड डुम्रे–बेँसीसहर–चामे मनाङ सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ । बहुवर्षीय योजनाका रुपमा संघ सरकारले ६१ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले दिने अनुदान, संघीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट निर्धारण गरेको छ । संघीय सरकारको बजेट आएसँगै मनाङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट निर्धारणका लागि योजना तर्जुमा भेला गरी सुझाव संकलन गरिरहेका छन् ।-रासस

प्रतिक्रिया