बिहीबार, वैशाख १३, २०८१

‘कबड्डी- ४’को कीर्तिमान, ‘ब्याक टच’ काण्ड झन्डै बन्यो तगारो

नेपालखोज २०७९ जेठ १८ गते ११:४४

काठमाडौं । प्रदर्शनमा आएको दिनदेखि नै धमाकेदार व्यापार गरिरहेको चलचित्र ‘कबड्डी– ४’ले चार दिनमा १० करोड ग्रस कलेक्सन गरेको छ । नेपाली चलिचत्र क्षेत्रमा छोटो समयमा राम्रो व्यापार गरेर यो चलचित्रले कीर्तिमान राखेको छ ।

फिल्मले राम्रो व्यापार गरिरहँदा नायिका मिरुना मगर कन्ट्रोभर्सीमा परिन् । उनले आफूमाथि एक भिक्षुले दुर्व्यहार गरेको आरोप लगाएर प्रहरीमा जाहेरी दिएपछि यो विषयले सामाजिक सन्जाल मात्रै नभई सडक पनि ततायो । नायिकाले आफू चर्चामा आउनको लागि निर्दोस भिक्षुलाई झुटो आरोप लगाएको भन्दै मंगलबार (हिजो) एक समुहले चाबहिल स्थित केएल टावरमा विरोध प्रदर्शन गरेको थियो । विरोधका कारण केएल टावरमा रहेको एफक्युबले नियमित शो नै बन्द गर्नुपर्ने स्थिति आयो । ‘ब्याक टच’ काण्डले नायिका मगरले चर्को आलोचना खेप्नु पर्यो ।

यो विवाद अहिले समाधान भइसकेको छ । चलचित्रको व्यापार नै प्रभावित हुने अवस्था आएपछि निर्माण टिमले दुई पक्षबीच समझदारी गरेर समस्या सुल्झाएको छ । भिक्षु र नायिका दुवैले दर्शक समक्ष माफी मागेका छन् । ‘ब्याक टच’ काण्डले चलचित्रको व्यपारमा केही असर परेपनि फिल्ममा दर्शकको आकर्षण घटेको छैन । पाँच दिनमा फिल्मले अनुमानित १३ करोड रुपैयाँ कलेक्सन गरेको छ ।

यसअघि सबैभन्दा बढी कलेक्सन छक्का पञ्चा– ३ को गरेको थियो । सो चलचित्रले १८ करोड कलेक्सन गरेको थियो । अहिलेको गति हेर्दा कबड्डी– ४ ले नेपाली चलचित्रमा व्यापारको नयाँ इतिहास रच्ने देखिन्छ ।

प्रतिक्रिया