सुरेन्द्र पाण्डेले भने- उत्पादन बढाउने भनियो, कृषि समस्यामा ध्यानै पुगेन

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष ०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ । बैठकमा नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको बताएका छन् ।
अहिले पनि किसानले मल नपाउने अवस्था रहेकाले त्यो समस्याको समाधान नगरी कृषि उत्पादन बढाउन नसकिने उनको तर्क थियो । वर्षे बाली लगाउने समयमा भारतबाट मल कहिले आउँछ टुङ्गो नभएको अवस्थामा मलमा बजेट आधा छुट्टाएर उत्पादन बढाउन नसकिने उनको भनाइ छ । उनले भने, ‘पैसा भएर त किन्ने अवस्था छैन भने बजेट घटाएर कसरी बढाउन सकिन्छ ।’
खाद्यमा अन्तशुल्क लगाउँदा विदेशी खाद्यान्नको आयात बढ्ने पूर्वअर्थमन्त्री पाण्डेले बताए । बिस्कुट, कुकिजलगायत स्वदेशमै उत्पादन हुने खाद्यान्नमा अन्तशुल्क बढाउँदा विदेशी खाद्यान्न सस्तो पर्ने उनले बताए । सेनेटरी प्याडमा ९० प्रतिशतसम्म आयकर छुट दिँदा देशभित्रका उद्योग सुक्दै जानसक्ने उनले जानकारी दिए ।
‘सरकारले कैयौं योजना थपेको छ, कतिपय छाडेको छ,’ पूर्वमन्त्री पाण्डेले भने । निर्वाचनको वर्ष भएकाले यो वर्ष बजेट कार्यान्वयन जम्मा चार महिनामा गर्न गाह्रो हुने उनले बताए । सरकारले चाहेर पनि पेट्रोलियम पदार्थलगायत वस्तुको आयात रोक्न नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया