संखुवासभाको चैनपुरमा पहिराले पुरिएर दुई मजदुरको मृत्यु

नेपालखोज २०७९ जेठ १८ गते १३:१७

किमाथांका । संखुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर-नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

आज बिहान ११ बजे चैनपुर-नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिराले पुरिएर धरानका राई र उदयपुरका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताए । चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको छ ।-रासस

प्रतिक्रिया