शुक्रबार, वैशाख १४, २०८१

विश्वको ४५ प्रतिशत जनसङ्ख्या मुखको रोगबाट पीडित, ३५० करोडभन्दा बढी प्रभावित

नेपालखोज २०७९ मंसिर ५ गते ११:५०

काठमाडौं । दाँत सड्ने , गिजा सुन्निने तथा मुखको क्यान्सर विश्वका ४५ प्रतिशतभन्दा बढी जनसंख्यालाई हुने मुखका प्रमुख रोग हुन् । विश्वभर करिब ३५० करोड मानिस यी रोगबाट पीडित छन् । हेर्ने हो भने, विश्वको सबैभन्दा कमजोर जनसंख्या यसबाट सबैभन्दा बढी पीडित छ । अनुमान अनुसार मुखको रोगबाट प्रभावित जनसंख्या मध्ये लगभग ७५ प्रतिशत कम तथा मध्यम आय भएका देशहरूमा बस्छन् ।

विश्व स्वास्थ्य संगठन (WHO) ले हालै ‘ग्लोबल ओरल हेल्थ स्टेटस’ सार्वजनिक गरेको छ । विश्वका १९४ देशको तथ्यांकका आधारमा तयार पारिएको उक्त प्रतिवेदनले विश्वमा मुख रोगको विस्तृत चित्र प्रस्तुत गरेको छ । प्रतिवेदनमा पछिल्ला ३० वर्षको अवधिमा मुख सँग सम्बन्धित रोगका विश्वव्यापी केसमा १०० करोडले वृद्धि भएको खुलासा गरिएको छ । जसले आज पनि यी रोगको रोकथाम एवं उपचारमा धेरै जसो मानिसको पहुँच नभएको देखाउँछ ।

यस सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस भन्छन्, ‘मुखक‍ो स्वास्थ्यलाई विश्वव्यापी रुपमा लामो समयदेखि बेवास्ता गरिँदै आएको छ ।’ प्रतिवेदन अनुसार सबैभन्दा सामान्य मुखका रोगमा दाँतमा किरा लाग्ने , गिजाको गम्भीर रोग, दाँत झर्ने तथा मुखको क्यान्सर हुन्। दाँतमा किरा लाग्ने रोग बाट संसारभर करिब २५० करोड मानिस पीडित छन् । त्यसैगरि गिजा सम्बन्धि रोगहरू दोस्रो स्थानमा छन्, जसका कारण विश्वभर करिब १० करोड मानिस पीडित छन् ।

ग्लोबल क्यान्सर अब्जर्भेटरीको तथ्यांक हेर्दा कुल क्यान्सरमध्ये मुखको क्यान्सरको हिस्सा ३० प्रतिशत छ । यति मात्र होइन, विश्वभर हरेक वर्ष करिब ३ दशमलव ८ लाख मुखको क्यान्सरका नयाँ केस दर्ता हुन्छन् । यी रोगको ढाँचा क्यान्सर, हृदय रोग, मधुमेह तथा मानसिक विकारहरू (गैर-संक्रामक रोगहरू) जस्तै छ। यसका लागि चिनीको उपभोग, सबै प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग, मदिराको सेवन आदि जिम्मेवार हुन्छन् ।

डब्ल्यूएचओले यसको उपचारमा लाग्ने उच्च लागतले पहिले नै आर्थिक बोझमा रहेका मानिसहरूको समस्या थप्ने बताएको छ भने प्रयाप्त स्वास्थ सुविधा नहुँदा सर्वसाधारणको उपचारमा समेत कठिनाइ भइरहेको छ । अपर्याप्त जानकारी र निगरानीले मुख सँग सम्बन्धित रोगलाई अझ बढाएकोछ । डब्ल्यूएचओले यसको सामना गर्न विभिन्न उपायहरू सुझाएको छ, जसमा देशहरूले आफ्नो प्राथमिक स्वास्थ्य सेवा प्रणालीमा मौखिक स्वास्थ्य सेवालाई पनि समावेश गर्नु पर्ने कुरा प्रमुख छ ।

प्रतिक्रिया