आइतबार, वैशाख २८, २०८२

‘राकेशभक्त पौडेलका हत्यारा लुकाउन खोजियो, प्रहरीले सहयोग गरेन’

नेपालखोज २०७९ जेठ १८ गते १४:३०

काठमाडौं । गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन मृत भेटिएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको परिवारले पौडेलको हत्या भएको दाबी गर्दै हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी हदैसम्मको कानुनी कारबाहीको माग गरेको छ ।

राजधानीमा आज पत्रकार सम्मेलन गर्दै राकेशका परिवारले प्रहरीले सानी नाबालिगलाई हत्यारा देखाएकामा आपत्ति जनाउँदै उक्त हत्या घट्नाको निष्पक्ष छानबिनको माग गरेको हो ।

पत्रकार सम्मेलनमा मृतकका माइला बुबा खड्गभक्त पौडेलले भतिज राकेशको हत्या प्रकरणमा दोषी पत्ता लगाएर कारबाही गर्न प्रहरीले सहयोग नगरेको गुनासो पोखेका छन् । उनले घट्नालगत्तै बाराको सिमराका डीएसपीले आफूसँग अल्पलाइन अस्पताल पुगेको र मृतकको शरीरमा घाउचोट नदेखिएको हुनाले सामान्य ठानेर आफू फर्किएको सुनाएको उल्लेख गरे ।

डीएसपीको निर्देशनपछि इन्स्पेक्टर घटनास्थल पुगेको तर सबै प्रमाण पानीले धोइपखाली गरेको भन्दै उनले आक्रोश पोखे । ‘प्रमाण त झन सुरक्षित राख्नुपर्दथ्यो, तर त्यहाँ त उल्टै धोइपखाली गरेर नष्ट गरियो,’ उनले भने, ‘मृतकको टाउकोपछाडि चोट लागेको छ भनेर जाहेरी दिँदा प्रहरीले जाहेरी लिन मानेन । त्यो लाइन हटाउन लगायो, तर हामी मानेनौं । हाम्रा वकिलले धेरैबेर सम्झाएपछि मात्र जाहेरी दर्ता गरियो ।’ ४–५ जनाले अगाडिबाट हानेर र एउटाले पछाडिबाट हानेर हत्या भएको हुनसक्ने उनले आशंका व्यक्त गरे ।

मृतकको शव पोस्टमार्टम गरेपछि मृत्युको कारण डाक्टरलाई सोध्दा पछाडि टाउकोमा लागेको चोट भएको खुलासा भएको पनि उनले सुनाए । ‘४ सेमि लामो र १ सेमि गहिरो चोट रहेछ,’ उनले भने । घाउको अवस्था हेर्दा हानेर मारेकैजस्तो प्रस्ट देखिने पनि उनको भनाइ थियो ।

भतिजको हत्या चुनावको दिन भएकोले पनि समस्या हुने भनेर परिवारले शव बुझेको उनले स्पष्ट पारे । मृतकको शव देवघाटमा लगेर दाहसंस्कार गरेको उनले सुनाए । घटनाको ११औं दिनमा सिमराका डीएसपी आएर छिमेकको सानी नानीले हानेर राकेशलाई मारेको पत्ता लागेको सुनाए पनि आफ्नो परिवार भने ती बालिकाले राकेशभक्तलाई मारेको भन्नेमा विश्वस्त नभएको स्पष्ट पारे ।

हत्या प्रकरणको छानबिनमा संलग्न प्रहरी अधिकारीको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘उहाँहरूले भनेजस्तो सानी केटीले कुटोको बिँडले हानेर रगत आएपछि राकेश बहिर गएर ढलेको होइन्, ४–५ जनाले अगाडिबाट समातेको हुनुपर्छ र एकजनाले पछिबाट धारिलो हतियारले हानेको हुनुपर्छ ।’

सानो–तिनो चोटबाट राकेश नमर्ने दाबी गर्दै उनले भने, ‘राकेशको त ६ फिटभन्दा बढी हाइट र ९० केजीभन्दा बढी तौल थियो । त्यत्रो अजंगको मान्छेलाई कसरी सानी फुच्चीले हानेर मार्न सक्छिन् ?’

घट्ना भएको घरकी बालिका र परिवारलाई प्रहरीसमक्ष सत्यतथ्य सबै बताइदिन आग्रह गर्दा उनीहरूले आफूहरूलाई केही थाहा नभएको मात्रै भनिरहँदा आफ्नो परिवारमा हत्या प्रकरणबारे झन् आशंका बढेको उनले सुनाए ।

उनले उक्त प्रकरणमा शंकास्पद ११ जनाको नाममा गत जेठ ३ गते जाहेरी दिएको सुनाए । बारा जितपुरसिमरा उपमहानगरपालिका ६ का चित्रबहादुर क्षेत्री, सन्तोष खत्री, उदव अधिकारी, खगेन्द्र थापा, केवी रिजाललगायतको नाममा जाहेरी दिएको उनले बताए ।

मृतकको पर्समा भएका सामान आजसम्म परिवारले नपाएको पनि उनले जनाए । प्रहरीले उक्त घट्नामा सुरुदेखि नै आफूहरूलाई असहयोग गरेको आरोप लगाउँदै उनले भने, ‘प्रहरीले हामीलाई यो घट्नामा सुरुदेखि नै सहयोग गरेको थिएन, घट्नाको ११औं दिनमा आएर नाबालक केटीलाई देखाएर हत्यारालाई लुकाउन खोजिएको छ । हामी न्यायको पक्षमा छौं । दोषीलाई तत्काल कारबाही हुनुपर्छ ।’

उक्त प्रकरणबारे सत्य, तथ्य पत्ता लगाई दोषीलाई कारबाहीको माग राख्दै आफूहरूले गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्न कोसिस गरे पनि अहिलेसम्म त्यो अवसर नपाएको उनले गुनासो गरे ।

आफ्नो भतिज अब फर्केर नआउने भन्दै उनले भने, ‘हत्यारालाई समातेर कानुनी कठघरामा ल्याएर सजाय दिन सके समाजमा यस्ता घटना दोहोरिने थिएनन् भन्ने मात्रै हाम्रो उद्देश्य हो । राकेश त अब फर्कन्न ।’

उनले घट्नामा संलग्न वास्तविक दोषीलाई कारबाहीको माग गर्दै सानी केटीलाई देखाएर वास्तविक हत्यारा लुकाउने प्रपञ्च नगर्नसमेत प्रहरी प्रशासनलाई आग्रह गरे । राकेशको मृत्युपछि अवरुद्ध भएको राजमार्गको बारेमा पौडेलले भने, ‘हाम्रो परिवारको पृष्ठभूमिलाई हाइवे बन्द गर्नु कुनै ठुलो कुरा होइन । १८ वटा गाडी आफ्नै भएपछि बाटो रोकिनु सामान्य हो ।’

उनका अनुसार मृतक राकेश ठेक्कापट्टा गर्दै आएका थिए । राकेशको हत्या भएको घर आफ्नो घरनजिकै भएको उनले बताए । अहिलेसम्म प्रहरीले उक्त घटनामा संलग्न १३ जनालाई पक्राउ गरिसकेको छ ।

राकेश बारा जितपुरसिमरा ६, नगौल टोलस्थित दलबहादुर क्षेत्रीको घरको भर्याङको नजिक तल माटोको भुईँमा गत वैशाख ३० गते बिहान ३ बजे मृत रहेको र उनलाई सोही ठाउँबाट उठाएर अस्पताल लगिएको परिवारले दाबी गरेको छ ।

प्रतिक्रिया