शान्ति समाज स्थापना दिवसमा ३० जिल्लामा के-के गरियो ?

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले ‘शान्ति समाजको कार्यक्षेत्र : जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरेको छ । आज यिनै विभिन्न कार्यक्रम गर्दै समाजले स्थापना दिवस मनाएको हो ।
२०५३ जेठ १९ गते स्थापित स्वयंसेवी संस्था शान्ति समाजले पछिल्लो दशकमा जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना अभियान, हिमालय बचाउँ आन्दोलन, युद्ध निषेध : शान्ति विशेष अभियान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार अभियान, लागुऔषध/मदिरा दुर्व्यसनविरुद्ध अभियानलाई तीव्र बनाउँदै आएको छ । ३८ जिल्लामा शाखा, १५१० आजीवन सदस्य र स्थापनाकालदेखि हालसम्म गरी १० हजार ६ सय ६० जनाले सदस्यता लिएको समाजले विज्ञप्तिमार्फत जनाएको छ । मानवअधिकार तथा शान्ति समाजको संस्थापक सभापति भने कृष्ण पहाडी हुन् ।
स्थापना दिवसका अवसरमा २०७९ जेठ १९ गते बिहान शान्ति समाज रुपन्देही शाखाले वुटवलस्थित नेपाल अपांग आश्रमलाई खाद्यान्न सहयोग र सैनामैनास्थित सुस्त मनस्थिति विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । काठमाडौं शाखाले गोठाटारस्थित असहाय गाईबाच्छा संरक्षण अभियानलाई २० हजार रुपैयाँको पिठो सहयोग गर्नुका साथै सोही स्थलमा वृक्षरोपणसमेत गरेको छ ।

यसैगरी सुनसरी शाखाले स्थानीय शान्ति वृद्धाश्रमलाई, गोरखा शाखाले गुरुकुल आश्रमलाई र नवलपुर शाखाले अपांग जीवन विकास संस्थालाई खाद्यान्न सहयोग गर्नुका साथै दाङ शाखाले तुलसीपुरस्थित आश्रमका लागि भोजन सहयोग गरेको छ ।
यसैगरी शान्ति समाज चितवन शाखाले एक वृद्धाश्रमलाई नगद सहयोग, संखुवासभा शाखाले फलफूल वितरण गर्नुका साथै सिरहा शाखाले लहानमा र कपिलवस्तु शाखाले वाणगंगामा वृक्षरोपण कार्यक्रम गरेका थिए । कैलाली शाखाले कर्णाली नदी पाताभार घाटमा सफाइ कार्यक्रम गरेको थियो ।
यस्तै शान्ति समाज पाल्पा शाखाले तानसेनमा श्रवणशक्ति कम भएका विद्यार्थीलाई र कास्की शाखाले जेठ १८ गते पोखरास्थित एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको थियो ।
शान्ति समाज स्थापना दिवसकै अवसरमा थप १७ शाखाले जेठ १९ गते सेवामुखीलगायत विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।


प्रतिक्रिया