युक्रेन आक्रमणको सय दिन : १ करोड ४० लाख बढीले देश छाडे, हजारौँको मृत्यु

किएभ । रुसी सेनाले युक्रेनमाथि आक्रमण थालेको सय दिन पूरा भएको छ । फेब्रअरी २४ मा रुसी सेनाले युक्रेन सीमाभित्र प्रवेश गरेर आक्रमण सुरु गरेका थिए । यो युद्धमा अहिलेसम्म हजारौँ मानिसको मृत्यु भइसकेको छ । लाखौँ जना विस्थापित भएका छन्।
सय दिनको अवधिमा युक्रेनमा जताजर्त आगोको मुस्लो, यत्रतत्र छरिएका शव, सर्वसाधारणको विजोग, गोलाबारुदको धूवाँ, क्षेप्यास्त्र आक्रमणले खण्डहर भएका घरहरू मात्रै देखिए । अहिले युक्रेनको भूमि ‘भूतको घर’ जस्तै देखिएको छ । सय दिनको अवधिमा युक्रेनमा चार अर्ब डलरको भौतिक क्षति पुगेको अनुमान छ । प्रायः सवै सहरका सरकारी कार्यालय तथा निजी आवास समेत ध्वस्त बनाइएको छ ।
आवासिय भवन र किनमेल गर्ने व्यापारिक केन्द्र पनि आक्रमणको निशाना बनाइएको छ । सवै संरचना ध्वस्तै बनाइएका छन् । रुसले आक्रमण सुरु गरेयता डर–त्रासले विभिन्न देश पुग्ने शरणार्थीको लाखौंको लहर लाग्यो । युक्रेनमा १ लाख ४० हजारभन्दा मानिसले अहिलेसम्म घर छाडेर हिँडेको तथ्यांक छ । ८० लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् ।
अधिकांश मानिसहरू सयदिन देखि नै भूमिगत कोठामा बस्न बाध्य छन् । तर राजधानी किएभ नजिकको बुचा सहरमा भने स्थिति अन्य सहरमा भन्दा सामान्य भएको छ । केही बजारहरू खुल्न पनि थालेका छन् । एकजना स्थानीयबासी भन्छन्, ‘जतिसुकै आक्रमण भए पनि बुचा मेरो सहर हो, म यसलाई छाडेर बाहिर जान सक्दिन ।’
आफूले केही गर्न नसके पनि बुचा आफ्नै भएको स्थानीयको दाबी छ । स्थानीयबासी भन्छन्, ‘बुचामा कुनै फासीवादी कहिल्यै आउन सक्दैनन् । तर प्रशिद्ध डोनबास सहर युक्रेनका अन्य सहरभन्दा धेरै नै क्षतिग्रस्त ठाउँ हो।’ रुसले यस सहरमा आक्रमण गर्दा विश्वले नै आलोचना गर्ने गरी विभत्स किसिमले युक्रेनी सेना तथा सर्वसाधारणको हत्या गरेको थियो ।
डोनबासको अतिरिक्त रुसले प्रशिद्ध सहर पोपास्ता, बाख्मुत, लिमान,लिसियान्सक,सेभेरोदोनेस्कलाई पूर्ण ध्वस्त बनाउन खोजिरहेको छ । भोल्नोभाखा र मारिउपोल जस्तै अन्य सहरलाई ध्वस्त बनाउने रुसी योजना भएको बुझिएको छ । युक्रेनको दक्षिणी ठूलो भूभाग आजभोलि रुसी सेनाको कब्जामा छ । यता डोनबासमा अझै संघर्ष जारी छ । प्रशिद्ध मारिउपोल पूर्णरुपमा रुसको नियन्त्रणमा छ ।
रुसले आक्रमण सुरु गरेसँगै पश्चिमा देश र उनीहरूका सहयोगीहरुले रुसविरुद्ध प्रतिबन्ध कायमै राखेका छन् । रुसी धनाढ्यका जहाजदेखि घरसम्म जफत गरिएको छ । युरोपेला देशका नेताहरू यो वर्षको अन्त्यसम्म रुसी तेलको आयातमा ९० प्रतिशत प्रतिबन्ध लगाउन सहमत भएका छन् । बन्दरगाह बन्द भएका कारण रुस र युक्रेनका बन्दरगाहबाट खाद्यान्न बाहिरी देशमा पुग्न सकेको छैन ।
फलस्वरुप बाह्य देशमा खाद्य संकटका साथै मूल्य बृद्धि हुँदै गएको छ । अन्न कम उत्पादन हुने देशमा चरम खाद्य संकट दीर्घकालसम्म हुने सम्भावना बढ्दै गएको छ । यता युक्रेनले आफ्नो देशमा १५ हजारभन्दा बढी रुसले युद्ध अपराध गरेको आरोप लगाएको छ । तर रुसी सेनाले नागरिकलाई आक्रमणको निशाना नबनाएको र युक्रेनले भनेजति युद्ध अपराध नगरेको दाबी गर्दै आएको छ ।
प्रतिक्रिया