‘प्रदेश १ र मधेसका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा’

काठमाडौं । प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशमा अहिले आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र मधेसका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशका बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
आज (शनिबार) दिउँसो प्रदेश १, मधेसलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस, वाग्मती र गण्डकीका केही स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति भने प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
यस्तै महाशाखाले प्रदेश १, मधेस, वाग्मती र गण्डकीका केही स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि सर्वसाधारमा अनुरोध गरेको छ ।

प्रतिक्रिया