सोमबार, असार १६, २०८२

फरक क्षमता भएका सबैलाई सामाजिक सुरक्षा भत्ता

नेपालखोज २०७९ जेठ २१ गते ११:१६

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपांगता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकामा पालिकाले भने पहेँलो र सेतो कार्ड प्राप्त सबै अपांगता भएका व्यक्तिलाई भत्ता दिने निर्णय गरेको छ ।

पहेँलो कार्ड भएकालाई मासिक पाँचसय रुपैयाँ र र सेतो कार्ड भएकालाई मासिक र तीन सयका दरले अपाङ्गता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ । यस निर्णयप्रति यहाँका स्थानीय खुसी भएका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक र एक हजार रकम प्रोत्साहन दिने निर्णय भएको छ । सो कार्यक्रम आगामी साउन १ गतेबाट लागू हुने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताए । हिंसापीडित महिलाका लागि लक्षित गरी परामर्श केन्द्र सञ्चालन गर्ने पालिकाले जनाएको छ । गाउँपालिकाअन्तर्गत रहेका लिफ्टिङ खानेपानी योजनामा ६० प्रतिशत विद्युत् शुल्क पालिकाले बेहोर्ने निर्णयसमेत भएको छ ।

यसैबीच, पाल्पाको निस्दी गाउँपालिकामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर २७२ नागरिकले सेवा लिएका छन् । शिविरमा एक जना कुष्ठरोगी र १० जनामा शङ्कास्पद भेटिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले बताएका छन् । तीन जनामा भिआईए पोजेटिभ, दुई जनामा सर्भाइकल पोलिप र एक जनामा सर्भाइकल सिस्ट पत्ता लगाएको छ ।

शिविरबाट चार महिलाको पाठेघर खस्ने समस्या देखिएको छ । दुई जनाले रिङ प्रेसरी, एक जनाले सिस्टोसिल र दुई जनाले इम्प्लान्ट सेवा लिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाको आयोजना तथा निस्दी गाउँपालिकाको समन्वयमा बिहीबार र शुक्रबार शिविर सञ्चालन भएको हो । सदरमुकाम तानसेनदेखि टाढा रहेको यस गाउँपालिकामा स्वास्थ्य सेवा पाउँदा नागरिकलाई ठूलो राहत मिलेको छ । – रासस

प्रतिक्रिया