अध्यक्ष ओली- सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड-१९ को महामारी फैलिने वित्तिकै नेपालमा तत्कालीन सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।
पुष्प वरुवाल स्मृति प्रतिष्ठानले आज भक्तपुरको बालेकाटस्थित ओली निवासमा आयोजना गरेको शिक्षासेवी, उद्योगी एवं समाजसेवी स्वर्गीय पुष्पबहादुर वरुवालको प्रथम स्मृति दिवस, स्मारिका विमोचन एवं श्रद्धाञ्जलीसभा कार्यक्रममा उजले अन्य मुलुकमा भन्दा नेपालमा त्यसबेलाको सरकारले धेरै काम गरेको जिकिर गरे ।
अध्यक्ष ओलीले भने, ‘विश्वव्यापी रूपमा महामारी फैलिरहेको थियो, कतिपय देश अर्थतन्त्र जोगाउनुपर्छ भनेर लागे, कतिपय देशले मास्क लगाउनै दिएनन्, कतिपयले राजनीतिक विषय बनाए तर हाम्रो देशमा भने सरकारले मानवीय जीवन र स्वास्थ्यलाई पहिलो प्राथमिकता हो भनेर जीवनरक्षालाई प्राथमिकतामा राखेर काम गर्यो ।’
देशमा स्वास्थ्य जनशक्तिका साथै अक्सिजन र भेन्टिलेटरको अभावमा पनि सबैले जनताको जीवन बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।यस्तो अवस्थामा पनि केहीलाई भने बचाउन नसकिएको उनले बताए । कोभिड-१९को संकमणकै कारण नेपालका शिक्षा सेवी, उद्योगी एवं समाजसेवी पुष्पबहादुर वरुवालको ०७८ जेठ २४ गते अमेरिकामा निधन भएको सन्दर्भ कोट्याउँदै उनले अमेरिकामा भए केही हुँदैन भन्ने भ्रम धेरै नेपालीमा रहेपनि नेपालको उपचार प्रभावकारी रहेकामा अध्यक्ष ओलीले जोड दिए ।
स्वर्गीय वरुवाल बिर्सनै नसक्ने व्यक्तित्व भएको चर्चा गर्दै उनले देश, समुदाय, शिक्षा र एमाले पार्टीमा उनको योगदानलाई बिर्सन नहुने बताए ।
एमाले नेता एवं पूर्वमन्त्री अग्नी खरेल, राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा यादवप्रसाद लामिछाने, सिटीइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी, भाषा आयोगका प्रवक्ता गेहनाथ गौतम, प्रतिष्ठानका गणेश भण्डारीलगायतले स्वर्गीय वरुवालले नेपालको शिक्षा, उद्योग र समाजिक सेवामा पुर्याइएको योगदानलाई सधैँ स्मरण गर्दै उनको अभियानलाई सफल पार्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रतिष्ठानका लेखनाथ पौडेलले सार्वजनिक गरिएको स्मारिका र रामचन्द्र खनालले वरुवालको चिनारी एवं योगदानकोबारेमा चर्चा गनु भयो । प्रतिष्ठानका अध्यक्ष गणेश वरुवालले स्वर्गीय वरुवालको स्मरणमा उनले पढ्यका विद्यालयमा छात्रवृत्ति र अक्षयकोष स्थापना, झापास्थित उनकै गाउँमा मन्दिर निर्माण, पार्क निर्माण र शालिक स्थापनाका साथै विवाह मण्डप र कार्यक्रम कक्ष लगायतका संरचना निर्माण गरिदिने घोषणा गरे ।

प्रतिक्रिया