सरकारसँग नाडाको आग्रह- विद्युतीय सवारीसाधनको करमा पुनर्विचार होस्

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले विद्युतीय सवारीसाधनहरूमा लगाइएको उच्च कर पुनर्विचार गरी विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन दिन आग्रह गरेको छ ।
नाडाले विद्युतिय सवारी साधनहरूमा उच्च महसुल वृद्धि गरेको सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो । विद्युुतीय सवारी साधानहरूमा लगाइएको उच्च करका कारण आफूहरूको व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएकाले त्यसमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको नाडाले जानकारी दिएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले दुई सय सीसीभन्दा माथिका मोटरसाइकलमा अन्तःशुल्क तथा भन्सार महसुलमा अत्यधिक वृद्धि गरेबाट त्यस किसिमका मोटरसाइकलको बिक्री वितरण गर्दै आएका अटोमोबाइल व्यवसायीहरूले अब आफ्नो व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था उत्पन्न भएकाले यसतर्फ समेत पुनर्विचारका लागि सरकासँग आग्रह गरेको छ ।
दुई सय सीसीसम्मका मोटरसाइकललाई सर्वसाधारण जनताले प्रयोग गर्ने सवारीसाधनका रूपमा लिएको देखिए पनि उच्च करका कारण त्यो सम्भव नहुने नाडाले मंगलबार विज्ञप्ति जारी गर्दै भनेको छ । ‘अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटले नेपालमा उत्पादित विद्युतलाई पेट्रोलियम पदार्थको विकल्पका रूपमा प्रयोग गरी छिमेकी मुलुकसँगको व्यापार घाटालाई कम गर्ने, नेपालको आफ्नै उत्पादन जलविद्युतलाई विद्युतीय सवारीसाधनहरूलगायत विभिन्न वस्तुहरूमा प्रयोगगरी विदेशी मुद्राको बचत गर्ने माध्यमका रूपमा लिएको स्पष्ट देखिए पनि अर्कोतर्फ सोही बजेटमा १०० किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारीसाधनहरूमा भन्सार तथा अन्तःशुल्क महसुलमा अत्यधिक वृद्धि गरिएको छ । यसले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहनको सट्टा दुरुत्साहित गरिएको बुझिन्छ । यस सन्दर्भमा नेपालको भौगलिक अवस्थाअनुसार २०० किलोवाट क्षमताका विद्युतीय सवारीसाधनहरूलाई समेत पुरानै व्यवस्थाअनुसार भन्सार तथा अन्तःशुल्क महसुल कायम गरिदिने व्यवस्थाका लागि सरकारसँग अनुरोध गर्दछौ,’ नाडाले विज्ञप्तिमार्फत भनेको छ ।
केही समयअघि मात्रै नेपाल सरकारले देशको वर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन निजी प्रयोजनका सवारीसाधनहरूको आसार मसान्तसम्मका लागि आयातमा रोक लगाएको छ । उक्त निजी प्रयोजनका सवारीसाधनहरूको आयातले विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा खासै असर पार्ने नदेखिएकाले आयात प्रतिबन्धको सहज समाधानका लागि समेत नाडाले आग्रह गरेको छ ।
प्रतिक्रिया