शनिबार, वैशाख २७, २०८२

बैंकिङ कसूर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७९ जेठ २४ गते १८:५९

काठमाडौं । झन्डै एक करोड रुपैंयाँ जरिवाना ठहर भएका बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार मंगलबार बैंकिङ कसुर मुद्धाका दुई जना फरार प्रतिवादीहरु कविता सुव्बा र लिना श्रेष्ठ गिरीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुई जना उपर झण्डै एक करोड रुपैंयाँ जरिवाना ठहर भएको सीआईबीले जानकारी दिएको छ । सीआईबीका अनुसार पक्राउ परेकामध्ये सुनसरीको धरान उपमहानगरपालिका वडा नं १७ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं ३१ बानेश्वर बस्दै आएकी ४२ वर्षिय सुब्बा उपर १५ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना ठहर भएको छ ।

उच्च अदालत पाटनले बि. सं २०७६ फागुन छ गते बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवानाको फैसाला गरेको थियो । सो पश्चात फरार रहेकी सुब्बालाई मंगलबार काठमाडौंको कालोपुलबाट पक्राउ गरिएको हो । यसैगरी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका. वडा नं. ९ स्थायी घर भई हाल काठमाडौंको नयाँँ बानेश्रर वडा नं १० बस्ने ३९ बर्षिया लिनालाई पनि मंगलबार नैं काठमाडौंको नयाँवस्ती क्षेत्रबाट पक्राउ गरिएको सीआईबीको भनाई छ ।

श्रेष्ठको विषयमा उच्च अदालत पाटनले वि.सं २०७६ माघ १९ गते फैसला गर्दै १५ दिन कैद र ५४ लाख ५० हजार रुपैंयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसपछि भने लिना फरार भएकी थिइन् ।

सीआईबीका अनुसार पर्याप्त मौज्दात रकम नभएको बैंक खाताहरुबाट रकम भुक्तान हुने भनी जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्ने बैंकिङ कसूर मुद्दाहरुमा सुब्बा र लिना उच्च अदालत पाटनबाट बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएकोमा सजाय वेरुजू भई फरार रहेका थिए ।

उनीहरुलाई सिआईबीबाट खटिएको प्रहरी टोलिले आज मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि सोही दिन काठमाडौं जिल्ला अदालतमा पेश गरेको सिआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया