तीन करोड ८९ लाखसहित चिनियाँ नागरिक पक्राउ

नेपालखोज २०७९ जेठ २४ गते २१:००

काठमाडाैं । प्रहरीले स्रोत नखुलेको तीन करोड ८९ लाख १३ हजार रूपैयाँ नगदसहित एक नेपाली र चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले नुवाकोटबाट काठमाडौँ आउँदै गरेको सुभारु कम्पनीको कारमा दुई प्लाष्टिकको बोरामा रकम लुकाएर ल्याउँदै गरेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–८ का ४४ वर्षीय फूलबहादुर गुरुङ तथा चिनियाँ नागरिक ५० वर्षीय आउङ जाइकिङ, ४९ वर्षीय जान तो, ३१ वर्षीय मेङ युङ सुङ र २६ वर्षीय माउजैन हउ छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले स्रोत नखुलेको रकम बोकेर आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुबाट प्रहरीले एक हजार दरको ३६ हजार ४१३ थान, रु ५०० दरको पाँच हजार एक थान, रु १०० दरको दुई थान, रु २० दरको एक थान रकम बरामद गरेको हो ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोक पठाएको प्रवक्ता मैनालीले बताए ।

प्रतिक्रिया