चितवनमा नयाँ चरा भेटियो
नेपालखोज
२०७९ जेठ २५ गते ११:५२

चितवन । चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् संघ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका-११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । ६ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिएका थिए । नयाँ चरा भेटिएपछि चराविज्ञ डा हेमसागर बरालसहितको विज्ञ समूह मंगलबार चितवन आएर थप अध्ययन गरेको थियो ।
बिडारीका अनुसार मंगलबार पनि चरा भेटिएको थियो । विज्ञहरुले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन् । यो चरा चीन, भारत, हंकङलगायत देशमा पाइन्छ । फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ । यो चरा लजालु स्वभावको भएको बिडारी बताउछन् । यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ । चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ । -रासस
सम्बन्धित

प्रतिक्रिया