उद्योग मन्त्रालयलाई महिला उद्यमीका यस्ता सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले महिला उद्यमी व्यवसायीहरूको विकास, विस्तार एवं प्रवर्द्धनका लागि हुनुपर्ने नीतिगत एवं प्रक्रियागत सुधारका सम्बन्धमा उद्योग मन्त्रालयमा लिखित सुझाव पेस गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलसँग मन्त्रालयमा भेटी उक्त सुझाव पेस गरिएको हो । सातैवटा प्रदेशका महिला उद्यमी व्यवसायीहरू र महिला उद्यमी समितिबाट विभिन्न मितिमा संचालित कार्यक्रमहरूबाट आएका सुझावहरूलाई समेटी उक्त सुझाव तयार पारिएको हो ।
महासंघबाट पेश गरिएको सुझावमा मुख्यतया सहुलियतपूर्ण कर्जा, सूचनाको पहुँच, पुनरकर्जा, परियोजना कर्जा, वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम, दर्ता नगरी सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरूलाई दर्ता प्रक्रियामा लैजाने, बस्तु बजारीकरण लगायतका विषयहरू समेटिएका छन् ।
भेटवार्ताका क्रममा उद्योग सचिव पोखरेलले महिला उद्यमीहरूका लागि व्यावसायिक महत्त्वका व्यक्ति कार्यक्रम ल्याउने, व्यापार मेलामा महिला उद्यमीहलाई प्राथमिकता दिने, वित्तीय साक्षरता, सूचनाको पहुँचलगायत अन्य प्रवद्र्धनात्मक कार्यक्रमहरूका लागि महिला उद्यमीहरूसंग सहकार्य गर्दै जाने प्रतिबद्धता पनि जनाए ।
सचिव पोखरेलले कृषि क्षेत्रको प्रवर्द्धनका लागि खेतदेखि उद्योगसम्मको अवधारणा ल्याएको र यसको डिजाइन गर्दा महासंघसँग सहकार्य गर्ने पनि बताए । यसैगरी स्वदेशी वस्तुको प्रयोगका लागि गुणस्तर र मूल्यमा ध्यान दिन आग्रह गर्दै उत्पादित वस्तुको ब्राण्ड स्थापित गर्नसमेत सल्लाह दिए ।
सोही दिन महासंघको महिला उद्यमी टोलीले वाणिज्य सचिव गणेशप्रसाद पाण्डेयसँग भेट गरी सुझाव पेश गरयो । भेटघाटको क्रममा सचिव पाण्डेयले प्राप्त सुझावबारे अध्ययन गरी आफ्नो कार्य क्षेत्रमा परेका सुझावहरू कार्यान्वयमा जोड दिने विश्वास दिलाए ।
महासंघको महिला उद्यमी विकास समितिका सभापति रीता सिंहको नेतृत्वमा समितिका ७ सदस्यीय टोलीले भेटवार्ता गरेको थियो ।

प्रतिक्रिया