आईजीपी धीरजप्रतापको निर्देशन- प्रहरी अस्पतालको गरिमा र साख कायम राख्नू

नेपालखोज २०७९ जेठ २७ गते १७:२०

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले प्रहरी अस्पतालको गरिमा र साख कायम राख्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । (आईजीपी) धीरजप्रताप सिंहका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

आईजीपी सिंहले नेपाल प्रहरी अस्पताल प्रहरी संगठनको एक अत्यन्त महत्त्वपूर्ण अंग भएकोले यसको गरिमा र साखलाई कायम राख्न सौहार्दता र हार्दिकता कायम राख्दै आ-आफ्नो जिम्मेवारीप्रति कर्तव्यनिष्ठ भएर काम गर्न अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका हुन् । विश्वमा भएका प्रविधिजन्य परिवर्तनलाई अँगालेर अस्पतालको स्तरोन्नति गर्ने, कार्यरत कर्मचारीको वृत्ति विकास गर्नेलगायत विषयमा संगठन सदैव सकारात्मक रहेको र त्यसका लागि आवश्यक सहयोग गर्न आफू सदैव तत्पर रहेको पनि बताए ।

उनले अस्पतालस्थित अक्सिजन प्लान्ट, पूर्वप्रहरी अधिकृत प्रतीक्षालय, फिजियो थेरापी विभाग, क्लिनिकल प्रयोगशाला, अपरेसन थिएटर, आईसीयू, सीसीयू, विभिन्न वार्डहरुलगायत विभिन्न यूनिटहरूको अवलोकनसमेत गरेका थिए ।

उनले हरेक प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य उसको कार्य सम्पदान गर्ने सामर्थ्य र मनोबलसँग जोडिने भएकाले संगठनात्मक लक्ष्य प्राप्तिका लागि बिरामी जाँच र उपचारमा अस्पताल प्रशासन तथा कार्यरत कर्मचारीहरू संवेदनशील हुनुपर्ने बताए । ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा अस्पतालले दर्जागत विभेदविना समानता कायम गरी असल व्यवहार, उचित परामर्श, सहानुभूतिपूर्ण उपचारको माध्यमबाट सेवामा सबैको सरल र सहज पहुँच हुने वातावरणको सुनिच्चितता गर्नूस्,’ उनले भने ।

आईजीपी सिंहले विभिन्न आरोह अवरोह, समस्या र कठिनाइ सामना गर्दै विगत करिब ४० वर्षदेखि निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालले कोभिड-१९ को संक्रमण नियन्त्रणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको चर्चा पनि गरे । उनले औषधिको गुणस्तर, पारदर्शी सेवा प्रवाहका साथै कमी-कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए । विद्यमान सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन तथा अस्पतालको दीर्घकालीन विकासका लागि सुधारका क्षेत्रहरु पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्न पनि उनले निर्देशन दिए ।

प्रतिक्रिया