राष्ट्र बैंक भन्यो- ६ महिना ५७ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त

काठमाडौं । विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालु आर्थिक वर्षको १० महिनाको प्रतिवेदनअनुसार विदेशी विनिमय सञ्चिति घट्दो क्रममा देखिएको हो ।
प्रतिवेदनअनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोडमा झरेको छ । राष्ट्र बैैकका अनुसार अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकामा २०७९ वैशाख मसान्तमा २१ दशमलव एक प्रतिशतले कमी आई नौ अर्ब २८ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकामा २०७९ वैशाख मसान्तमा १८ दशमलव तीन प्रतिशतले घटेर १० खर्ब १७ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकको संस्थाहरूसँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १६ दशमलव एक प्रतिशतले कमी आई एक खर्ब २९ अर्ब ६१ करोड कायम भएको छ । २०७९ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५ दशमलव एक प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।
‘चालु आर्थिक वर्षको दश महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति सात महिना ३४ दिनको वस्तु आयात र ६ महिना ५७ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया