विद्युत् प्रसारण लाइनमा मानिस चढेपछि : ७० मेगावाट उत्पादन बन्द, ६० लाखको घाटा

नेपालखोज २०७९ जेठ २८ गते १७:४४

काठमाडौं । नुवाकोटको विद्युत प्रशारण लाइनमा एक पुरुष चढेपछि विद्युत उत्पादन बन्द गरिएको छ । विद्युत प्रसारण नहुँदा काठमाडौंमा बिजुली पुर्याउनै समस्या हुन थालेको छ । प्रसारण लाइनमा मान्छे पुगेपछि लगभग ७० मेगावाट विद्युत् उत्पादन बन्द गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणाई ६० लाख रुपैयाँ हाराहारी घाटा भएको जनाइएको छ । प्रमुख कुलमान घिसिङले मानिसलाई तल झार्न दिनभर प्रयास गर्दा पनि सफल नभएको सञ्चारकर्मीलाई जानकारी दिएका छन् । विद्युत उत्पादन बन्द हुँदा घण्टामा १० देखि १२ लाख रुपैयाँ बराबर घाटा भएको घिसिङले जनाए ।

नुवाकोटको घले गाउँ बस्ने माइला विक शनिबार बिहानदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् । बिहान ९ बजे उनी प्रशारण लाइनको टावरबाट सबैभन्दा माथिल्लो लाइनमा पुगेको जनाइएको छ । यो समाचार तयार पार्दासम्म सेनाको हेलिकोप्टरले उनलाई उद्धार गर्ने प्रयास भइरहेको छ ।

हेलिकोप्टर उनीछेउ पुगेपनि समात्न समस्या हुँदा उद्धारमा समस्या भएको छ । विद्युत उत्पादन भने बिहान ११ बजेदेखि बन्द गरिएको हो । तलबाट बोलाउँदा नमानेपछि उनको उद्धारका लागि प्राधिकरणले सेनालाई गुहारेको छ ।

प्रतिक्रिया