आइतबार, पुष ६, २०८२

बोलिभियाकी पूर्व राष्ट्रपति अनेजलाई १० वर्ष जेल सजायको फैसला 

नेपालखोज २०७९ जेठ २८ गते १९:००

लापाज । बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ ।  उनलाई गिरफ्तार गरेको झन्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो । अहिले ५४ वर्ष भएकी अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो । 

उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छन् । आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको उनको भनाई छ ।  पूर्व राष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरेपनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले उनले महिला कारागारमा तोकिएको समय बिताउनु पर्ने भएको छ ।

उनलाई लापाज स्थित कारागारमा राखिने अधिकारीहरूले जनाएका छन् ।   उनले संविधानले दिएको आफ्नो जिम्मेबारी र अधिकारभन्दा बाहिर गएर अपराध गरेको देखिएकाले उनलाई सजायको फैसला गरिएको अदालतको भनाई छ ।  उनका विपक्षीहरूले भने उनलाई कम्तीमा १५ वर्ष जेल सजाय हुनुपर्ने माग अदालतसँग गरेका थिए ।

उनलाई राष्ट्रपति हुनुअघि सिनेटर भएको बेला देखि कै विभिन्न आरोपहरू लगाइएको छ । दक्षिणपन्थी नेतृ अनेज सन् २०१९ को नोभेम्बरदेखि ठिक एक वर्ष बोलिभियाको अन्तरिम राष्ट्रपति बन्नु भएको थियो । त्यसअघि उहाँ बोलिभियाको सिनेटको उपाध्यक्ष भएकी थिइन् । उनले तत्कालीन राष्ट्रपति इभो मोरालेजले राजीनामा दिएपछि आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गराएकी थिइन् ।

मोरालेजले गराएको निर्वाचनमा धाँधली भएको भन्दै देशभरी चर्को विरोध भएपछि उहाँले राजीनामा दिन वाध्य हुनु परेको थियो । राजीनामापछि आफूलाई असुरक्षा महसुस भएको भन्दै उहाँले मेक्सिकोमा शरण लिएकी थिइन् । उनले देश छाडेकाले पनि अन्तरिम राष्ट्रपतिको जिम्मेबारी सम्हाल्न अनेजलाई सजिलो भएको थियो ।  अनेज राजनीतिमा आउनु भन्दा अगाडि अधिवक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोता समेत थिइन्  रासस/एएफपी

प्रतिक्रिया