युवा रोजगारी सिर्जनाका लागि नेपाल चेम्बर अफ कमर्सले स्थानीय तहसँग सहकार्य गर्ने

नेपालखोज २०७९ जेठ २९ गते १४:३९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले युवा रोजगारी सिर्जना तथा उद्यमशीलता विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने बताएका छन् । महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले स्वदेशमै रोजगारी सिर्जना गरेर युवा पलायन हुनबाट रोक्नुपर्ने बताएका हुन् ।

युवा उद्यमशीलता तथा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि प्राकृतिक स्रोतको उच्चतम प्रयोग, विदेशमा सिकेको सीपलाई नेपालमा प्रवर्द्धन गर्न नेपाल चेम्बर अफ कमर्सले सबै स्थानीय तहसँग सहकार्य गर्न चाहेको अध्यक्ष मल्ललको भनाइ छ । अध्यक्ष मल्लले भने, ‘विदेशबाट फर्किएका युवाहरूको लगत संकलन गरेर उनीहरूको सीपलाई राज्यले प्रोत्साहन गर्न नीतिगत व्यवस्था गर्न आवश्यक छ । सरकाले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने बजेटमा घोषणा गरेको छ । युवाहरूको सीपलाई एकीकृत गरेर औद्योगिक ग्राम बनाउन सकिन्छ । यसमा अन्तर्राष्ट्रिय कम्पनीलाई पनि प्रोत्साहन गर्न सकिन्छ र लगानीमार्फत विदेशमा सिकेको ज्ञान तथा सीपलाई उत्पादनसँग जोड्न सकिन्छ ।’ युवा स्वरोजगारीमार्फत आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि मुलुकभित्रका प्राकृतिक स्रोतको उच्चतम सदुपयोग गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

अध्यक्ष मल्लले महोत्तरीमा उत्पादित उखु, फलफूललगायत अन्य उपभोग्य वस्तुको बजारीकरणका लागि जिल्ला चेम्बरले सहकार्य गर्नेसमेत बताए । मुलुकमा विचौलिया राजको अन्त्यका लागि कृषक र उपभोक्तासम्म सीधा सम्पर्क हुनेगरी बजारको व्यवस्था गर्न चेम्बर अफ कमर्सले पहल गर्नेसमेत बताए । मुलुकमा चरम व्यापार घाटा भइरहेको सन्दर्भमा अध्यक्ष मल्लले भुक्तानी सन्तुलनलाई कायम राख्नु सबैभन्दा ठूलो चुनौती भएको बताए । मुलुकको भुक्तानी सन्तुलन कायम राख्न आयात र निर्यातलाई व्यवस्थित गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

यस्तै अध्यक्ष मल्लले कर राजस्व नीति पनि एकलद्वारको हुनुपर्ने बताए । मुलुकको अर्थतन्त्रलाई निजी क्षेत्रले धानिरहेको भन्दै अध्यक्ष मल्लले सहज ढंगले व्यवसाय गर्ने वातावरण राज्यले बनाउनुपर्ने बताए ।

प्रतिक्रिया