पर्यटनमन्त्री आलेले भने- विमानस्थललाई सफाइको नमुना बनाउँछु

नेपालखोज २०७९ जेठ ३१ गते १६:०६
तस्बिर : रासस

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सफाइको नमुना बनाउने प्रतिबद्धता जनाएका छन् । उनले विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने बनाउनेमा आफू प्रतिबद्ध रहेको बताए । विमानस्थलमा कार्यरत निजी क्षेत्रका सरसफाइसम्बन्धी १५२ कामदार तथा कर्मचारीलाई दिइएको दुई साताको अन्तर्राष्ट्रिय स्तरको सफाइ प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै मन्त्री आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक आउँदा फोहरका कारण अब नाक छोप्नुपर्ने अवस्था नहुने बताए ।

‘हामीले एयरपोर्टमा पर्यटक आउँदा फोहरले नाक छोप्नुपर्ने अवस्थाको अन्त्य गरेका छौं, विमानस्थल विमान सरसफाइ राख्ने जिम्मा सरसफाइकर्मीको हातमा छ,’ उनले भने, ‘आफूले लिएको सरसफाइसम्बन्धी तालिमको भरपूर प्रयोग गर्नुस्, के सहयोग चाहिन्छ, म सहयोग गर्छु ।’ विमानस्थलमा सरसफाइसम्बन्धी टेन्डर गर्दा प्रत्येक वर्ष ठेकेदार फेरिने तर सरसफाइ कर्मचारी उही रहने भएकाले सधैं फोहोरको समाना गर्नुपरेको उनको भनाइ छ । उनले विमानस्थल सफा राख्ने जिम्मा सफाइकर्मीकै हातमा भएकाले देशको प्रतिष्ठा राख्न पनि सधैं सफा राख्नुपर्नेमा उनले जोड दिए ।

उनले विमानस्थलमा सरसफाइसम्बन्धी काम गर्ने कर्मचारीहरुलाई वार्षिक रुपमा पुरस्कृत गर्ने व्यवस्था मिलाउनसमेत विमानस्थल प्रमुखलाई निर्देशन पनि दिए । मन्त्री आलेले सरसफाइको काममा कामदार मात्रै दोषी नहुने भन्दै यहाँका कर्मचारी, सुपरभाइजरहरुले पनि कामको गुणस्तार हेर्नुपर्ने र त्यस्तै सेवा दिनुपर्ने बताए ।

मन्त्री आलेले आफूले दिएको निर्देशनबमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न विकासका राम्रा कामहरु भएको दाबीसमेत गरे । विमानस्थलमा ब्यागेज बेल्टदेखि टर्मिनल भवनको शिलान्यास गरिनुका साथै पानीका फोहोरा निर्माणका काम पनि आफ्नै निर्देशनमा भएको उनको भनाइ थियो ।

सरसफाइ प्रशिक्षणको पहिलो चरणमा आज ७० जनालाई प्रमाणपत्र दिइएको थियो । अभियानका १५२ जनामध्ये अर्को चरणको तालिम आगामी बिहीबारदेखि सुरु हुनेछ । सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षक खेम शर्माले प्रशिक्षण दिइरहेका छन् । यसअघि पनि पाँच वर्षअघि शर्माले आफ्नो नेतृत्वको खेम्स क्लिनिङ नामक सरसफाइसम्बन्धी कम्पनीमार्फत स्वयंसेवी रुपमा विमानस्थलको सफाइ गरी नमुना प्रस्तुत गरेका थिए । प्रशिक्षण एवं तालिमबाट विमानस्थल थप सफा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया