मंगलबार, असार १७, २०८२

मेडिसिटी बयोधा अस्पतालमा ८७ जनाद्वारा रक्तदान

नेपालखोज २०७९ जेठ ३१ गते २०:००

काठमाडाैं । विश्व रक्तदाता दिवसको उपलक्ष्यमा मेडिसिटी बयोधा अस्पतालमा ८७ जनाले रक्तदान गरेका छन् । जुन १४ लाई संसारभर विश्व रक्तदाता दिवसको रुपमा मनाईने क्रममा मेडिसिटी बयोधा अस्पतालले नेपाल रेडक्रस सोसाईटी, विरगंजको सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रमका सशस्त्र प्रहरी, जनपद प्रहरी, विभिन्न संघसंस्था, स्थानीय नागरीक, अस्पतालका कर्मचारीहरुले रक्तदान गरेका छन् ।

कायक्रमका प्रमुख अतिथि विरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले रक्तदान जीवनदान भनिए पनि हत्तपत्त मानिसहरु रक्तदान गर्न अभिप्रेरित नहुने भएकोले जनचेतना अभिबृद्धिमा अझ बढी काम गर्नुपर्ने बताए । अस्पतालले आम नागरिकहरुको स्वास्थ्यमा ध्यान दिँदै सबैलाई उपचार गर्ने अवस्था सिर्जना गर्नुपर्ने र पैसाको अभावमा बिरामीहरुलाई उपचार नगर्ने, पैसा नतिरेका लागि अस्पतालले बन्धकी बनाउने जस्ता कार्यहरु गर्न नहुने उनले बताए ।

विरगंजका जनताहरुको स्वास्थ्य अभिबृद्धिका लागि महानगरपालिका सबै प्रकारको सहयोग गर्न तत्पर रहेको पनि सो अवसरमा उनले जानकारी गराए । कार्यक्रमको सभापतित्व गरेका मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले हालै नेपाल मेडिसिटी अस्पताल काठमाडौंले नारायणी बयोधा अस्पतालको स्वामित्व ग्रहण गरी अस्पतालको ब्यवस्थापनलाई अझ परिकृत गर्दै विरगंजका जनताहरुलाई घरआंगनमै विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा लागीपरिरहेको जानकारी गराए ।

निकट भविष्यमा क्याथ ल्याब सहित मुटुरोगको सम्पूर्ण उपचारका लागि नेपाल मेडिसिटी अस्पतालबाट २४ सै घन्टा विशेषज्ञ चिकित्सकहरुको ब्यवस्था गर्ने योजना रहेको पनि सो अवसरमा उनले बताए । अति विशिष्ट र विशिष्ट सेवाहरुलाई विरगंजमै सम्भव बनाउने अभियानलाई साकार बनाउन विरगंजका नागरिक, उद्यमी ब्यवशायी, समाजसेवी, स्थानीय निकाय, स्थानीय प्रशासन एवं स्वास्थ्यकर्मीहरुको सदैव सहयोगको अपेक्षा गरेको अस्पताल प्रमुख रिमालले बताए ।

कार्यक्रममा समाजसेवी तथा उद्योगपति अशोक बैद्य, जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तव, सशस्त्र प्रहरीका नायब उपरिक्षक सुमन थापा, श्रीपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक डि.ए.सापकोटा लगायतकाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया