शनिबार, वैशाख १३, २०८२

अर्को बिग मर्जर : बन्यो ‘ग्लोबल आईएमई बीओके’, रोकियो नेप्सेमा कारोबार

स्वाप रेसियो १:१ हुने ।

नेपालखोज २०७९ असार २ गते १३:१७

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौं लिमिटेडले मर्जका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । द्विपक्षीय सम्झौतामा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाडौंका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जर सम्झौतासँगै दोस्रो बजारमा दुई बैंकको सेयर कारोबार भने रोक्का गरिएको छ । मर्जपछि बैंकको नाम ‘ग्लोबल आईएमई बीओके लिमिटेड’ राखिने भएको छ । सञ्चालक समितिको बोर्डमा भने ग्लोबल आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँचजना र बैंक अफ काठमाडौंका दुईजना रहनेछन् ।

नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज वज्राचार्यले जिम्मेवारी सम्हाल्ने प्रारम्भिक सहमति भएको छ । दुई पक्षबीच हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी पत्रमा उल्लेख छ । ग्लोबल आईएमई बीओके लिमिटेडमा ५ वटा ‘क’ वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुने जनाइएको छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर ग्लोबल आईएमई बीओके बन्ने निश्चित भएको हो ।

ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी हाल २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ छ । यस्तै बैंक अफ काठमाडौंको १० अर्ब ६३ करोड ३९ लाख ९४ हजार रुपैयाँ छ । मर्जरपछि यो नेपालको सबैभन्दा ठूलो बैंक हुने भएको छ ।

ग्लोबल आईएमईका अध्यक्ष ढकालले मर्जरको काम नेपालको बैंकिङ इतिहासमा एउटा ऐतिहासिक कार्य भएको दाबी गरेका छन् । मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसाबले सर्वोकृष्ट बनाउने प्रतिबद्धता पनि अध्यक्ष ढकालले व्यक्त गरेका छन् ।

प्रतिक्रिया