रवि लामिछानेले छाडे ग्यालेक्सी, अब चुनाव लड्ने

नेपालखोज २०७९ असार २ गते १५:३२

काठमाडौं । रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् । आगामी संसदीय निर्वाचनमा उम्मेद्वार हुनका लागि उनले ग्यालेक्सी टेलिभिजन छाडेका हुन् । टिभीबाट विहीबार जिम्मेवारमुक्त हु्नेवित्तीकै उनले आजैबाट राजनीतिमा लाग्ने जनाएका थिए । ग्यालेक्सी टीभीमा सिधा कुरा चलाउँदै आएका उनले अबदेखि उक्त कार्यक्रम नचलाउने भएका छन् ।

लोकप्रिय कार्यक्रम सिधा कुरामा उनले समसामयिक जल्दाबल्दा विषयबस्तु उठाउँदै आएका थिए । ग्यालेक्सी टीभीले आयोजना गरेको विदाई कार्यक्रममा उनले अहिलेसम्म जनताको समस्या सुनेकाले आगामी दिनमा ती समस्या समाधान गर्ने भूमिकामा जान चाहेको जनाए ।

स्थानीय तहको निर्वाचनमा राजनीतिक दलप्रति वितृष्णा जागेपछि धेरै स्वतन्त्र उम्मेद्वारले चुनाव जितेका थिए । स्थानीय तहको निर्वाचनको मतरिणामअनुसार स्वतन्त्र उम्मेद्वारले राम्रो मत ल्याएपछि आसन्न संसदीय चुनाव लड्न नाम चलेका र जनताको सेवामा बर्षौंदेखि खटिएकाहरु उम्मेद्वारी दिन जुर्मुराएका छन् ।

यसैक्रममा टेलिभिजन कार्यक्रममार्फत लोकप्रियता हासिल गरेका लामिछानेले उम्मेद्वारी दिने भएका छन् । उनी कुनै राजनीतिक पार्टीमा आबद्ध भएर चुनावी मैदानमा उत्रिने हुन् वा स्वतन्त्र रूपमा चुनावी मैदान आउने हुन् भन्ने निश्चित भने भएको छैन ।

देशका अधिकांश निर्वाचन क्षेत्रमा धेरै लोकप्रिय युवाहरूले स्वतन्त्र उम्मेद्वारीको घोषणा गरिसकेका छन् । यसैक्रममा लोकप्रिय टेलिभिजन प्रस्तोता लामिछानेले पनि संसदीय निर्वाचनमा काठमाडौंबाट चुनाव लड्ने चर्चा छ । उनी कुन क्षेत्रबाट चुनाव लड्ने हुन् भन्ने एकिन भएको छैन ।

संसदीय चुनावमा उम्मेद्वारी दिने विषयमा छलफलको क्रममा रहेको उनले जनाएका छन् । विभिन्न राजनीतिक दलबाट उम्मेद्वाका लागि आग्रह गरिएको पनि उनले जनाएका छन् । विभिन्न दलका शीर्ष नेतासँग पनि उनको कुराकानी भएको छ । तर कसरी चुनाव लड्ने भन्ने सम्बन्धमा केही दिनमै टुंगोमा लामिछानेको भनाइ छ । ‘राजनीतिमा लाग्छु’ भन्दै उनले ग्यालेक्सी टीभी छाडेको जनाइएको छ ।

लामिछानेले चुनाव अहिले लड्छु वा लड्दिन भनेर निधो नगरेको सञ्चारकर्मीलाई जनाएका छन् । तत्काल सार्वजनिक भएका समाचार आधिकारिक नभएको उनले जनाएका छन् । तर ग्यालेक्सी टेलिभिजन छाडिसकेको उनको कदम संसदीय चुनावमा लड्ने नै हो भन्ने आधार तय भएको छ ।

लोकप्रिय सञ्चारकर्मी लामिछानेलाई दुई वर्षअघि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्दा समेत चलाइएको थियो । तर चितवन जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ परेका लामिछानेलाई रिहाइ गर्न माग गर्दै हजारौं मानिस सडकमा आएका थिए । उनलाई छाड्न व्यापक जनदबाब आएको थियो । पक्राउ परेका बेला लामिछानेले न्युज ट्वान्टी फोरमा सिधा कुरा चलाउँदै आएका थिए ।

प्रतिक्रिया