पोखरेलले भने- असंलग्न नीतिलाई कमजोर बनाउनेगरी कुनै सम्झौता गर्न हुँदैन

काठमाडौं । नेकपा एमालेका सांसद ईश्वर पोखरेलले देशको असंलग्न नीतिलाई कमजोर बनाउने गरी कुनै सम्झौता गर्न नहुने बताएका छन् । उनले परराष्ट्र नीतिलाई कमजोर बनाउने विषयलाई एमालेले सधैँ प्रतिवाद गर्ने पनि उल्लेख गरे ।
प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै एमालेका वरिष्ठ उपाध्यक्षसमेत रहेका सांसद पोखरेलले अहिले आएको स्टेट पाटनरसिप प्रोग्राम एसपीपी राष्ट्रको हित विपरीत रहेकाले स्वीकार्य नहुने बताए ।
उनले आफू उपप्रधान तथा रक्षामन्त्री भएका बेला उक्त प्रस्ताव आएको तर आफूले राष्ट्र हित विपरीत जान नमिल्ने भन्दै अमेरिकाको प्रस्तावलाइ अस्विकार गरेको दाबी गरे । उनले नेकपा एमालेले विगतमा यसको प्रक्रिया अघि बढाएको भनी पूर्वाग्रहपूर्ण अभिव्यक्तिहरु आइरहेको आरोप पनि लगाए ।
उनले सन् २०१५ /०१७ मा अमेरिकाबाट नेपालमा उक्त प्रस्ताव आएको र त्यो बेलामा सरकारको नेतृत्वमा एमाले नरहेको पनि स्पष्ट पारे । उनले उक्त प्रस्ताव अघि बढाउनु हुँदैन भन्ने विषयमा आफू सचेत रहेको पनि बताए ।
बैठकमा सांसद दुर्गा पौडेलले एसपीपी मुलुकको पक्षमा नरहेको उल्लेख गर्दै त्यसतर्फ गम्भिर हुनुपर्नेमा जोड दिए । यसले देशमा गम्भिर खतरा उत्पन्न भएको संकेत मिलेकाले त्यसलाइ अस्विकार गरेर अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया