सामाजिक सुरक्षामा आवद्ध हुन श्रममन्त्री श्रेष्ठकाे अपिल

नेपालखोज २०७९ असार ३ गते ११:५९

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षामा आवद्ध हुन अपील गरेका छन् । गत वैशाख ४ गतेको मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार तथा विदेशमा रहेका व्यक्तिहरुको नियमित योगदान रकम सञ्चित गर्ने, सञ्चित रकमको लगानी प्रतिफल सञ्चयकर्ताले प्राप्त गर्न सक्ने गरी तत्काल कार्यविधि बनाउने निर्णय गरिएको बताए । मन्त्री श्रेष्ठले जीवनको उर्भर समय विदेशमा खर्ची बुढेसकालमा सहाराको रुपमा कोषबाट सञ्चालित आश्रीत परिवार सुरक्षा योजनाबाट सहयोग प्राप्त हुने बताए ।

वैदेशिक रोजगारीका क्रममा दुर्घटनामा परी आजिवन काम गर्न नसक्ने गरी अंगभंग भई आजिवन सामाजिक सुरक्षाको आवश्यकता रहेकालाई पनि कोषले सञ्चालन गरेको अशक्तता सुरक्षा योजनावाट सहायता उपलब्ध हुने मन्त्री श्रेष्ठको भनाइ छ । ठुलो संख्यामा नेपालीहरु बिभिन्न मुलुकमा श्रम गरिरहेको उल्लेख गर्दे उनले जोखिमयुक्त काम गर्न बाध्य श्रमिकको सम्मानित श्रमका लागि सामाजिक सुरक्षा अपरिहार्य रहेको बताए ।

आगामी आर्थिक वर्षको बजेटमा पनि वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विषय उल्लेख गरिएको मन्त्री श्रेष्ठले बताए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समिति गठन गरि वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आवश्यक पुर्वाधार तयार गरिएको उनले बताए । गन्तव्य मुलुकसँग द्विपक्षीय समझदारी गरि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइनेछ ।

आगामी पाँच आर्थिक वर्ष (२०७९/०८० देखि ०८३/०८४) मा सम्पादन हुने विभिन्न क्रियाकलाप समेटेर मन्त्रालयले तयार गरेको पाँच वर्षे रणनीतिक योजनामा पनि हामीले सामाजिक सुरक्षा कोषको विस्तारलाई प्राथमिकतामा राखिएको मन्त्री श्रेष्ठले बताए । २०७५ मंसिर ११ गतेयोगदानमा आधारित सामाजिक सुरक्षाको शुरुवाट भएदेखि नीजि संगठीत क्षेत्रका करिव ३ लाख ४० हजार श्रमिक र १७ हजार रोजगारदाता आवद्ध भएका छन् ।

प्रतिक्रिया