नेता गुरुङले भने- तालबजार बचाउ आवश्यक

मनाङ । नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङले हिमाली जिल्ला मनाङको इन्टर्नपोइन्ट तालबजारको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । जिल्ला समन्वय समितिका निर्वाचित प्रमुख, उपप्रमुखलगायत सदस्यलाई बधाई दिँदै पूर्व राज्यमन्त्री गुरुङले गतवर्ष मर्स्याङ्दी नदीमा आएको बाढीपहिराले नासों गाउँपालिकामा बढी क्षति पुगेको बताए ।
उनले भने, ‘नासों गाउँपालिकामा मर्स्याङ्दीको बाढीले तालबजार पूर्णमा क्षतिग्रस्त भएको थियो, तालगाउँ आन्तरिक तथा बाह्य पर्यटक र मनाङवासीको इन्टर्नपोइन्ट भएकाले यसलाई बताउन आवश्यक छ, तालबजारको संरक्षणका लागि अहिले तटबन्धन निर्माण कार्य भइरहेको छ । विपदग्रस्त जिल्लालाई समावेश गरेर संघ सरकारमार्फत विपद् व्यवस्थापन विभागबाट तीन करोड १४ लाख रुपैयाँ बजेट विनियोजन भएपछि तालगाउँको संरक्षणका लागि तटबन्धन निर्माण भइरहेको छ ।’
मनाङको मेरुदण्डका रुपमा रहेको विपदबाट क्षतिग्रस्त बेँशीसहर–चामे सडकखण्ड निर्माणका लागि विगतमा बहुवर्षीय योजनाका रुपमा परेको बजेटबाहेक अन्य पर्न नसकेको उनले बताए ।
मनाङको मेरुदण्डको सडक निर्माणका लागि ट्र्याक खोलिएको १० वर्ष भएको छ । कांग्रेसकै पहलमा बाढीपहिरोबाट क्षतिग्रस्त सडकको ट्र्याक निर्माणका लागि राष्ट्रिय योजनाका उपाध्यक्ष, प्रदेशको राष्ट्रिय योजनाका उपाध्यक्ष, सडक विभागको प्राविधिकको टोलीले अध्ययन तथा अनुसन्धान गरिएको र निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको उनको जिकिर छ । मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलानको काम भइरहेको छ ।-रासस

प्रतिक्रिया