मंगलबार, वैशाख ११, २०८१

सिँगान र राजनीति !

सुजम्बर सम्भव २०७९ असार ४ गते १०:५३

सिँगान !
भए पनि आपत्ति
नभए पनि आपत्ति ।

सिँगान तान्दै स्कुल जाँदा
मास्टरजीको मसला
आमाको हप्काई
बाबाको दुई पाउ आशीर्वाद
सँगीहरुको जुगुप्सा
सबै मलाई याद छ ।
अनि ब्रीडाबोधले
झुकेको मेरो मुखमण्डल
त्यो पनि याद छ ।
त्यसैले सिँगानलाई कहिलै हेर्दिनँ
मिल्काईदिन्छु आँखा नजुधाई ।

बढेपछि र पढेपछि पो थाहा भयो
जीवाणुनासक गुणसहित रहने सिँगान
नाकलाई सर्वदा मुलायम राख्ने
र, घ्राण शक्ति कायम राख्ने रहेछ,
सिँगान, खराब नै सही
अनिवार्य रहेछ बाँच्नलाई ।
तर, सम्झनुहोस त यसको बिभत्स रुप
के तपाईंलाई वमनले दमन गर्दैन?
नघिनाएर के गर्नु?
घिनाएर पनि के गर्नु?
काटौँ त आफ्नै नाक
नकाटौँ त आफ्नै नास ।
त्यसैले पुछिरहन्छु नाकलाई चेप्ट्याउदै
र,अहिले सिँगान पुछ्दै गर्दा
सम्झिरहेको छु यो देशको फोहोर राजनीतिलाई ।

सिँगान र यो देशको राजनीति
मेरा लागि उस्तै उस्तै हुन्
घिनाए पनि बोक्नै पर्ने
नघिनाए पनि नसकिने
भए पनि आपत्ति
नभए पनि आपत्ति ।

प्रतिक्रिया