आइतबार, जेठ ६, २०८१

मुद्दाको मार्केटिङ

प्रमोद प्रधान २०७९ मंसिर २४ गते ११:१८

लामो समयसम्मको
गोप्य मन्त्रणापछि
भर्खरै भएको छ एउटा सम्झौता –
र, सम्झौतालगत्तै सुरु भएको छ,
नयाँ मुद्दाको मार्केटिङ !

मुद्दा थरीथरी छन्,
हिजो पनि थिए, आज पनि छन् ।
लामो समयदेखि कोही गर्दैछन्
समाजवादको मार्केटिङ !
गरिरहेछन् कोही साम्यवादको,
कोही गर्दैछन् राष्ट्रवादको !

विचारका मुद्दाहरू खोटा भएपछि
अहिले उनीहरू
नयाँ मुद्दासहित प्रवेश गरेका छन्
नेपाली बजारमा !
कोही संघीयता बेचिरहेछन्
कोही संघीयताविरुद्धको नारा बेचिरहेछन्
कोही नागरिकताका प्रावधानमा मोलमोलाइ गरिरहेछन्
कोही नक्सा बेचिरहेछन्

गैरसरकारी संस्थाहरू छन्,
उनीहरू पनि विक्री गरिरहेछन्
समयसंगसंगै नयाँ उत्पादनहरू बजारमा
र, मार्केटिङमा व्यस्त छन् ।
मानवअधिकारवादीहरू पनि छन् बजारमा
र, अब कसको मुद्दा उठाउने भनेर
विमर्शमा व्यस्त छन् ।
सामाजिक अभियन्ताहरू छन्;
कानून व्यवसायीहरू छन्;
प्राध्यापक-शिक्षकहरू छन्;
पत्रकारहरू छन्;
सबैका आ-आफ्नै मुद्दा छन्
र, गरिरहेछन् आफ्नै मुद्दाको मार्केटिङ !
केही मुद्दा छन् – जातपातका,
केही मुद्दा छन् – लिङ्गभेदका,
केही मुद्दा पहिचानसंग जोडिएका छन्,
केही धर्म, भेष र भाषासंग सम्बन्धित छन्,
र, मुद्दाको मार्केटिङ भव्य रूपमा चलिरहेछ !
अनि देश-
परिणत भएको छ एउटा सुपर मार्केटमा !
कहिलेसम्म बनिरहनुपर्ने हो
उपभोक्ता बजार
मेरो देश ?

लामो समयसम्मको
गोप्य मन्त्रणापछि
भर्खरै भएको छ एउटा सम्झौता-
र, सम्झौतालगत्तै
सुरु भएको छ
नयाँ मुद्दाको मार्केटिङ !

प्रतिक्रिया