शनिबार, जेठ ४, २०८२

व्यक्तिगत सफाइ र स्वस्थ बालबालिका !

नेपालखोज २०७९ असार ५ गते ८:५३

अभिभावकले आफ्नो र आफ्नो शिशु/बालबालिकाको व्यक्तिगत सरसफाइ दैनिक गर्ने कामहरू मध्येको प्रमुख काम मानिन्छ । व्यक्तिगत सरसफाइ गर्नाले बालबालिका विभिन्न रोग जस्तै, आँखा पाक्ने, दाँत किरा लाग्ने, जुम्रा चायाँ पर्ने, दाद, लुतो, छालाको ढुसी, किर्ना, जुका आदिबाट बच्न सक्छन् ।

व्यक्तिगत सरसफाइको अभावमा निद्रा र खानपिनमा अरुचि हुने मात्र नभइ बालबालिकाको वृद्धि-विकासमा समेत अवरोध आउँछ । विशेष गरी दिनदिनै बाहिरबाट फर्केपछि बालबालिकालाई हातखुट्टा साबुनपानीले धुन दिँदा रुघाखोकी र पखाला लाग्न कम भएको विभिन्न अनुसन्धानले देखाउँछ ।

गर्भवती महिलाले पनि आफ्नो व्यक्तिगत सरसफाइ गर्नुपर्दछ । त्यसैगरी नवजात शिशुको समेत सरसफाइ गरिदिनु पर्दछ ।

खाना खानु अघि र पछि, दिसा पिसाब वा चर्पीको प्रयोग गरीसकेपछि साबुनपानीले मिचीमिची हात धोएर देखाउने र धोइदिनुपर्छ । घरबाहिर चर्पी जाँदा चप्पल/जुत्ताको प्रयोग गर्न लगाउनुपर्दछ ।

बालबालिकालाई नुहाइ धुवाइ
-आमाबाबुले बालबालिकालाई नुहाइदिनु अघि सफा लुगा, रुमाल, साबुन, मनतातो पानी, बस्ने बाटा वा पिड्का, मग, खाली बोतल, तैरने खेलौना आदि तयार गर्नुपर्दछ ।

-नुहाउने क्रियाकलाप बारे रमाइलो ढङ्गले (के, कसरी) भन्नुपर्दछ । पहिले उनीहरूलाई पानी, साबुन खेल्न (फिंज निकाल्न) अनुभव गर्न र हेर्न दिनुपर्छ । बाटा वा पीड्कामा बसेपछि खुट्टाको सफाइदेखि शुरु गरेर कुमसम्म साबुन लगाउन उनीहरूलाई प्रोत्साहन गर्नुपर्दछ र पानीले पखालिदिनुपर्दछ ।

-अब शिशु/बालबालिकालाई आफ्नो काखमा लिएर कपाल नुहाइदिनुपर्छ । आँखा, कान, नाकभित्र नपर्ने गरी पखाली दिनुपर्छ । पुछ्नको लागि उनीहरूलाई आफैलाइ पनि प्रोत्साहन गर्नुपर्छ । लुगा लगाउने क्रममा लुगाको नाम, यसको रङ, आकार बारे बताउनुपर्छ । त्यसैगरी टाँक, हुक, जिपर लगाउन सिकाउनुपर्दछ ।

-शिशु/बालबालिकालाई सरसफाइ र नुहाइसकेपछि सफा लुगा लगाउन र लगाइसकेको लुगाहरू धुनुपर्छ भन्ने बताउनुपर्दछ ।

-बालबालिकालाई मौसम र स्थानीय वातावरण अनुसार नियमित (हप्ताको २ पटक) मनतातो पानीले नुहाइदिने र लुगा कपडाहरू धोइ दिनुपर्दछ । हाम्रो धेरैजसो समुदायको चलनअनुसार नवजात शिशुलाई गरीने तेलमालिस व्यक्तिगत सरसफाइको राम्रो अभ्यास हो ।

तेलले मालिस गर्नु अघि विहानको घाममा मनतातो पानीमा नरमकपडा भिजाएर शिशुको आँखाको चिप्रा, कान पछाडी, काखी, कपालमा भएका सेतो पाप्रा (जुठो, भर्निक्स) पुछिदिनुपर्दछ ।

नवजात शिशुलाई २४ घण्टासम्म नुहाइदिनु हुँदैन । चिकित्सकका अनुसार स्थानीय मौसम अनुसार स्वस्थ शिशुलाई (मन तातोपानीले) हप्तामा दुई पटक नुहाइदिन सुझाव दिइएको छ । तर अस्वस्थ, कमतौलको शिशुलाई नुहाएमा समस्या आउने हुनाले स्वास्थकर्मीको सल्लाह बमोजिम मात्रै नुहाइदिनुपर्छ ।

शिशु/बालबालिकाको उमेर, विकासात्मक अवस्था, क्षमता अनुसार सरसफाइ गरीदिने र सँगसँगै गर्न सिकाउनुपर्छ बालबालिकालाई दिनको २ पटक दाँत माझ्न सिकाउनु पर्दछ । दन्त चिकित्सक संघहरूका अनुसार शिशुको दाँत आए देखिनै दाँत मुख सफा गरी दिनु पर्दछ । शिशु ३ वर्ष पुगेपछि दिनहुँ दाँत माझिदिने र माझ्न सिकाउनु पर्छ । हात गोडा आदि धुने, नुहाउने, समय समयमा नङ काट्ने, कपाल काट्ने गरीदिनुपर्छ ।

चर्पीको सही प्रयोग
बालबालिका दुईदेखि तीन वर्षको उमेर पुगेपछि बिस्तारै निश्चित ठाउँ वा शिशुमैत्री पटी (बाल कोपरा) मा दिसा पिसाब गर्ने तालिम गराउनु पर्दछ । शिशुले दिसा पिसाब नियन्त्रण गर्न सक्षम बनाउन यस्तो तालिम दिनु पर्दछ । बालबालिकाको दिसापिसाब चर्पीमा बिसर्जन गराउनुपर्छ ।
-युनिसेफ नेपाल

प्रतिक्रिया