आइतबार, पुष ६, २०८२

फ्रान्सेली राष्ट्रपति माक्रोँ बहुमत गुमाउने अवस्थामा

नेपालखोज २०७९ असार ६ गते ९:२५

काठमाडौं । राष्ट्रपतिमा पुन: निर्वाचित भएको दुई महिनाभन्दा कम समयमै प्रतिस्पर्धी दलहरूले बलियो प्रदर्शन गरेपछि फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँ त्यहाँको संसद्‌को तल्लो सदनमा नियन्त्रण गुमाउने अवस्थामा पुगेका छन् । उनले बलियो बहुमतका लागि मतदातालाई आह्वान गरेका थिए । तर माक्रोँको मध्यमार्गी गठबन्धनले चुनावमा दर्जनौँ सिट गुमाएको छ।

त्यसले गर्दा फ्रान्सेली राजनीति ध्रुवीकृत हुन पुगेको छ। अब उनले सुधारका कुराहरू पारित गर्न सङ्घर्ष गर्नुपर्नेछ। वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीहरूको नवगठित गठबन्धन दोस्रो र मारिन ल पेनको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्ने देखिएका छन् । राष्ट्रपति माक्रोँले अब आफ्नो मन्त्रिपरिषद्का केही सदस्यलाई गुमाउने र विभाजित संसद्सँग काम गर्नुपर्ने छ र त्यो निकै असहज हुनेछ। राष्ट्रपतिले हालै एलिजाबेट बोर्नलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै उक्त चुनावी नतिजा आएको हो।

प्रधानमन्त्री बोर्नले फ्रान्सेली टीभीमा बोल्दै अवस्था अभूतपूर्व भएको र आधुनिक फ्रान्सले यस्तो संसद् कहिल्यै नदेखेको बताइन् । उनले भनिन्, “हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सामना गरिरहेका खतरालाई ध्यान दिने हो भने यो अवस्थाले हाम्रो देशका लागि जोखिमको प्रतिनिधित्व गर्दछ । हामी भोलिदेखि नै बहुमत पुर्‍याउनका लागि काम गर्नेछौँ।”

अति वामपन्थी नेता जोन-लुक मेलन्सनले मुख्यधाराका दलहरूलाई आफ्नो बृहत्तर गठबन्धनमा ल्याउने सफलतामा रमाइरहेका छन् । उनले समर्थकहरूलाई राष्ट्रपतिको पार्टी पूर्ण रूपमा पराजित भएको बताए । राष्ट्रपति निर्वाचनमा माक्रोँको प्रतिस्पर्धी रहेको ल पेन पनि खुसीको मुद्रामा छन् ।

उनले जनताले माक्रोँको साहसिक कार्य समाप्त भयो भनेको र उनलाई अल्पसङ्ख्यक सरकारको नेतृत्व गर्न पठाइदिएको बताइन् । आफूहरूले सोचे जति आफ्नो मत नघटेकाले दक्षिणपन्थी रिपब्लिकनहरू पनि खुसी छन् । माक्रोँले यसअघिको संसद्‌मा ३०० भन्दा बढी सिट पाएका थिए र गत एप्रिलमा भएको राष्ट्रपति चुनावमा पेनलाई पराजित गरेका थिए ।

स्पष्ट बहुमत कायम राख्न उनलाई २८९ सिट आवश्यक पर्छ, तर उनको गठबन्धनले २४५ सिट ल्याउने देखिएको छ । टीएफवान् टीभीका अनुसार मेलन्सनको गठबन्धनले १५७ देखि १६३ सिट जित्ने जस्तो देखिएको छ भने अति दक्षिणपन्थी न्याशनल र्‍याली पार्टीले ८ सिटबाट बढाएर ८५ देखि ९० पुर्‍याउने देखिएको छ । मतदानमा आधाभन्दा बढी मतदाता अनुपस्थित रहेको र कुल ४६ दशमलव २३ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया