बिहीबार, वैशाख १३, २०८१

ओलम्पिक डेका अवसरमा ११ खेलाडी सम्मानित

नेपालखोज २०७९ असार ८ गते १३:४०

नेपालगन्ज । ओलम्पिक डेका अवसरमा नेपाली खेलकुदका कुशल प्रशासक अशोकजंग थापालाई सम्मान गरिएको छ । उमेरले असीको दशक छुन लागेका थापालाई बुधवार नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स फर अल कमिसन (लुम्बिनी प्रदेश कमिटी)ल नेपालगन्जमा सम्मान गरेको हो ।

ओलम्पिक डेका अवसरमा थापासहित ११ जना अग्रज खेलकर्मीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा थापासँगै अजित कुमार शर्मा, रतन टण्डन, सच्चिदानन्द चौवे, विश्वनाथ चौवे, विष्णुमान श्रेष्ठ, फजल अब्बास रिज्वी, गोवद्र्धनसिंह सम्झना, गोविन्द श्रेष्ठ, राकेश श्रीवास्तव, शान्ति सिंह रहेका छन् ।

ब्याडमिन्टन, भलिबललगायत खेलको राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी अजित कुमार शर्मा एशियाली खेलकुदमा भलिबलतर्फ रेफ्रीको जिम्मेवारी निर्वाह गर्ने एकमात्र नेपाली हुन् । उनले सिओल एशियाड खेलाएका थिए । सम्मानित सबैजना आफ्नो समयका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागि भइसकेका खेलकर्मी हुन् । स्पोर्ट्स फर अल कमिसन लुम्बिनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एवं ओलम्पियन जन्माउन योगदान दिने अग्रजलाई सम्मान गरेको जनाएको छ । सुर्खेतरोडस्थित वेष्टर्न मलमा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

नेपाली सेना श्री नं. ४ वाहिनी अड्डाका बाहिनीपति सहायकरथी उत्तमकुमार बिष्ट, राष्ट्रिय खेलकुद परिषदका सदस्य सुमित्रा चौधरी, लुम्बिनी खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, निवर्तमान सदस्यसचिव भिम ओली, कृष्णप्रसाद श्रेष्ठले खादा, माला र कदरपत्रले सम्मान गरेका हुन् ।

कार्यक्रममा सम्मानित व्यक्तित्व शर्माले पहिलो पुस्ताका खेलाडी सच्चिदानन्द चौवेतर्फ लक्षित गर्दै धोती लगाएर भलिबल खेलेको संसारकै बिरलै घटना नेपालगन्जमा आफुले देखेको रोचक किस्सा सुनाए । खेलकुदकै कारण नेपालगन्जको सामाजिक सदभाव कायम रहेको पनि उनले सुनाए ।

नेपालगन्जबाट चार जना ओलम्पियन निस्केका छन् । ओलम्पियन सुरेन्द्र हमाल(भारोत्तोलन), पार्वती थापा(सुटिङ), अनिता श्रेष्ठ(सुटिङ) र सोनिया भट्ट(जुडो) नेपालगन्जबाट ओलम्पिकसम्मको यात्रा तय गर्ने खेलाडी हुन् । नेपाली खेलकुद इतिहासमा नेपालगन्जले बृहत राष्ट्रिय खेलकुदका दुई संस्करण आयोजना गर्ने एकमात्र सहरको पहिचान समेत बनाएको छ । धारा नेपालगन्ज म्याराथन र सगरमाथा सिमेन्ट पिएम कप महिला भलिबल आठ बर्षदेखि नियमित सञ्चालन हुँदै आएका राष्ट्रिय स्तरका इभेन्ट हुन् ।

ओलम्पिक डेका अवसरमा विविध कार्यक्रम गर्ने बाँके जिल्ला साइक्लिङ संघ, पौडी संघ, ब्याडमिन्टन संघ, भलिबल संघ, तेक्वान्दो डोजाङ लगायतलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । साइक्लिङ संघका अध्यक्ष गगन थापा, ब्याडमिन्टन अध्यक्ष सञ्जय थापा, पौडी अध्यक्ष सम्झना, तेक्वान्दो प्रशिक्षक बिमला भण्डारी, भलिबलका सुमन बस्नेतले मायाको चिनो प्राप्त गरेका थिए ।

ओलम्पिक डे कार्यक्रम सम्पन्न गर्न वेष्टर्न मल, जारा प्रिन्टर्स, धारा नेपालगन्ज म्याराथन र पिएम कप आयोजकको सहयोग रहेको थियो ।

प्रतिक्रिया