शनिबार, वैशाख ८, २०८१

काठमाडाैंमा चार जनामा हैजा पुष्टि, सतर्कता अपनाउन आग्रह

नेपालखोज २०७९ असार ८ गते १५:५५

काठमाडौं । काठमाडौंका विभिन्न स्थानका चार जनामा हैजा पुष्टि भएको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चार जनामा हैजा भएको पुष्टि जानकारी दिए ।

उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक/एक जनामा हैजा देखिएको छ । उनले भने, ‘फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुनसक्छ । काठमाडौं हैजाको जोखिममा रहेको देखियो ।’

विगतमा काठमाडौंमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उनले हैजा पुष्टि भएका ठाउँमा थप खोजी र लक्षण भएका हैजाका विरामी खोजिरहेको बताए । बागबजारका दुई जना १८ र २३ वर्षीय युवतीमा यहि असार ५ गते र भोटेवहाल र डिल्लीबजारमा एक÷एकमा मंगलबार देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको भन्ने पत्ता लगाउनका लागि जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सन समेत रहनु भएका फुयालले फोहोरको प्रकोप बढेर खानेपानीका प्रदुषण भएर हैजा रोग देखिएको बताए । उनले बागबजारको पानीको तीन वटा नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिए ।

उनका अनुसार एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र टुवेलको पानीको नमुना परीक्षण गरिएको छ । उनले पानीको कारणले हैजा भएको आफूले शंका गरेपनि परीक्षणको रिर्पोट नआएकन केही भन्न नसकिने बताए । ‘हैजा देखिएको ठाउँमा गएर हैजा देखिएका व्यक्तिले के के खाएका हुन भनेर हामीले परीक्षण गर्ने काम गरिरहेका छौ,’ स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भने, ‘हामीले घरवरपरका छिमेकीसंग पनि के कस्ता खानेपानी र खानेकुरा खाएका छन भनेर अध्ययन गरिरहेका छौ ।’

उनले बागबजारका दुई जना युवतीले जार र धाराको पानी नउमालिकन खाने गरेको पाइएको बताए । असार २ गते चटपटे खाएपछि ति युवतीलाई मुखबाट उल्टी गर्नुको साथै पखाला लागको थियो ।

प्रमुख अधिकारीले ती युवतीले काम गर्ने ठाउँ डिल्लीबजार गएर खानेपानी र खानेकुराको परीक्षण भइरहेको बताए । स्वास्थ्य कार्यालय काठमाडौंले चार जनामा हैजा देखिएपछि सतर्क अपनाउन आग्रह गरेको छ । कार्यालयले शुद्ध खानेपानी खान, प्रदुषित खानेकुरा तथा झिंगा धन्केको खानेकुरा नखान आग्रह गर्दै माइकिङ समेत शुरु गरेको उनले जानकारी दिए ।

यस्तै महिला स्वास्थ्य स्वयसेविकाले पनि खानेपानीलाई शुद्धिकरण गरेर मात्र खान आग्रह गर्दै टोलटोलमा खटाइएको उनले बताए। कार्यालयले काठमाडौं उपत्यका खानेपानी लिमिडेट, खानेपानी वोक्ने ट्याङक्टर व्यवसायी र जार व्यवसायीसंग पनि खानेपानी शुद्धिकरण गरेर मात्र वितरण गर्न भनेको छ ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ । मन्त्रालयले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रुपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रुपमा साबुन पानीले हात धुन अनुरोध गरिएको छ । रासस

प्रतिक्रिया