प्रहरी महानिरीक्षक सिंहद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको बुधबार निरीक्षण गरेका छन् । सो क्रममा उनले प्रतिष्ठानस्थित आन्तरिक कक्षा कोठा, प्रशिक्षार्थी ब्यारेक, मेस, पुस्तकालयको साथै प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूको कवाज एवम् प्रतिष्ठान परिसरमा अवस्थित अपराध अनुसन्धान विद्यालयको समेत निरीक्षण गरे ।

साथै प्रहरी महानिरीक्षक सिंहले सोही अवसरमा प्रतिष्ठान परिसरस्थित बाधापार इलाकामा वृक्षरोपण गरे । निरीक्षण पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी शिक्षालय भरतपुर, काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगञ्ज, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रका प्रतिनिधिहरूलाई प्रहरी सहायक निरीक्षक र प्रहरी जवान आधारभूत तालिमहरूको प्रशिक्षण म्यानुअल हस्तान्तरण गरे ।

महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा नवप्रवेशीलाई प्रहरी बनाउन र उन्नत तालिमका प्रशिक्षार्थीहरूलाई व्यावसायिक बनाउन प्रशिक्षकको भूमिका अहम हुने तथा यस गहन जिम्मेवारी बोकेका प्रशिक्षकले सदैव उत्प्रेरित भएर प्रशिक्षणमा केन्द्रीत हुनुपर्ने बताए । साथै उनले प्रतिष्ठान परिसरमा उच्चस्तरको अनुशासन प्रस्तुत गर्न निर्देशन दिए ।

प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षार्थीलाई तालिमप्रति उत्प्रेरित गर्न प्रशिक्षण वातावरण, प्रशिक्षार्थीले पाउने सुविधा, प्रशिक्षण सामग्रीको उपलब्धता, प्रशिक्षार्थीप्रतिको व्यवहार लगायतका तत्वहरू हुनुपर्ने उल्लेख गर्दै प्रशिक्षणमैत्री वातावरण बनाउन प्रतिष्ठान केन्द्रीत हुनुपर्नेमा जोड दिए । नेपाल प्रहरीका तालिम प्रदायक संस्थामध्ये प्रतिष्ठान मेरूदण्ड भएको र प्रतिष्ठानले अवलम्बन गरेका असल अभ्यास अन्य संस्थाको लागि अनुकरणीय हुने भएकोले प्रतिष्ठानको गतिविधि सदैव नमूना हुन जरूरी रहेको उनले चर्चा गरे । उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यले धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुखबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि प्रतिष्ठानमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले प्रतिष्ठानको गतिविधि, चुनौती र अपेक्षासहितको प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै नेपाल प्रहरी शिक्षालय भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
सङ्गीत विद्यालय नेपाल प्रहरीको अभिन्न अंग
महानिरीक्षक सिंहले नेपाल प्रहरीको अभिन्न अङ्गको रुपमा रहेको सङ्गीत विद्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले विपदलगायत अन्य आपतकालीन अवस्थामा समेत काम गरी संगठनलाई थप योगदान दिनुपर्ने बताएका छन् ।

नेपाल प्रहरी सङ्गीत विद्यालय महाराजगञ्जकाे बुधबार निरीक्षण पश्चात कार्यरत कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा उनले उक्त कुरा बताएका हुन । प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरूको आफू कार्यरत रहेको ठाउँमा उत्कृष्टता दिने मूल दायित्व रहने चर्चा गर्दै अनुशासन, उत्कृष्टता, लगनशीलताले निश्चय पनि सङ्गीत क्षेत्रलाई शिखरमा पुर्याउने विश्वास व्यक्त गरे । नेपाल प्रहरीसँगै नेपाल प्रहरी वैण्डको प्रख्याति आउनुपर्नेमा जोड दिँदै नेपाल प्रहरीको सङ्गीतलाई अझै गतिशील बनाउन यसको आधुनिकिरण तथा विद्यालयमा कार्यरत प्रहरी कर्मचारीको हित र वृत्ति विकासका लागि प्रहरी संगठन सचेत रहेको बताए ।

उक्त अवसरमा सङ्गीत विद्यालयका प्रहरी नायव उपरीक्षक भुलाराज खनाल समेतको सङ्गीत टोलीले विभिन्न साङ्गीतिक प्रस्तुती दिएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया