मुलुकमा परिवर्तन ल्याउन टंकप्रसादको योगदान महत्त्वपूर्ण : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टंकप्रसाद आचार्यले तत्कालिन समयमा छरेको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताएका छन् । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार यहाँ आयोजना गरेको विसं १९९७ असार ९ गते राणा शासनविरुद्ध छरिएको पहिलो पर्चा र विसं २००८ असार ३ गते गठन भएको ‘जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल’ विषयक संवाद कार्यक्रममा सो धारणा व्यक्त गरे ।
उनले भने, ‘मुलुकमा परिवर्तन ल्याउन टंकप्रसादले छरेको पर्चाको योगदान महत्वपूर्ण रहेको छ ।’ आचार्यले गठन गरेको नेपाल प्रजापरिषद् नेपाली धर्ती र नेपाली विचारबाट बनेको संस्था रहेकोसमेत उनले बताए ।
उनले टंकप्रसाद आचार्यको विचार र सङ्गठनले विसं २००७ को क्रान्ति भएको धारणासमेत व्यक्त गरे। उनले भने, ‘टङ्कप्रसाद आचार्यलाई मुलुकको नेतृत्व दिइन्थ्यो भने उहाँले परिकल्पना गर्नुभएको मुलुक बन्दथ्यो ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले उद्देश्यलाई जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिने बताए। उनले भने, ‘देश ठूलो हो, देशका लागि हामीले काम गर्ने हो, हाम्रा उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्दछ ।’
उनले प्रजापरिषद् नामेट पार्न एमालेमा गाँभेको नभई उद्देश्यलाई अमर राख्नका लागि एकता गरिएको बताए । उनले भने, ‘प्रजा परिषद्का उद्देश्य अमर रहेका छन् । ती बाँचिरहन्छन् ।’ प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले टंकप्रसाद आचार्यले छरेको पर्चाले मुलुकमा राजनीतिक जागरण आएको बताए ।
टंकप्रसाद आचार्यले राणा शासनको विरोधमा विसं १९९७ असार ९ गते भोटो देखाउने जात्राका दिन चारवटा पर्चा छरे । सोही दिनको सम्झनामा पर्चा दिवस मनाउने गरिन्छ । यसैबीच सोही कार्यक्रममा अरविन्द रिमाल र डा महेश्वर शर्मालाई जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल गठनमा पुर्याएको योगदानस्वरुप सम्मान गरिएको थियो ।








प्रतिक्रिया