‘सफलता हासिल गर्न महत्त्वपूर्ण दक्षताको पहिचान गरौं’

काठमाडौं । भारतका प्रसिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफ एमिनेन्स डा. सञ्जीव पी. साहनीले ‘विद्यार्थीहरूमाझ व्यवहारजन्य दक्षता र कार्यसम्पादन अभिवृद्धि गरेर उनीहरूको सम्भावित क्षमतालाई अधिकतम बनाउने’ कुरामा जोड दिएका छन् ।
काठमाडौंस्थित होटल मेरियटमा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । कम्पिटेन्सी म्यापिङ प्रविधिमार्फत विद्यार्थीहरूबीच विभिन्न सामाजिक, भावनात्मक र संज्ञानात्मक क्षमताहरू अभिवृद्धिबारे डा. साहनीले विस्तृतमा बताएका थिए । त्यस्तै विद्याार्थीको शैक्षिक प्रदर्शन, भावनात्मक सन्तुष्टि र करियर सफलतालाई कसरी उनीहरूको व्यवहारसम्बन्धी स्टिमुलाइले प्रभाव पार्ने उनको भनाइ थियो ।
‘विद्यार्थीहरूको सापेक्षिक सबल पक्ष र कमजोरीहरू बुझ्नु र तिनकै आधारमा उनीहरूले विकास गर्नुपर्ने मुख्य दक्षताहरू पहिचान गर्नु अत्यन्त आवश्यक हुन्छ । यो सबै विद्याार्थीको टिमवर्क, नेतृत्व क्षमता र निर्णय लिने क्षमताजस्ता क्षेत्रमा उनीहरूको कौशलता पहिचान गर्ने र तिनकै आधारमा सुधारात्मक संयन्त्र निर्माण गर्ने कुरासँग सम्बन्धित छ,’ डा. साहनीले भने । उनी हालै वर्ल्ड सोसाइटी अफ भिक्टिमोलजीको उपाध्यक्षमा पनि चुनिएका छन् ।

पछिल्ला वर्षमा डा. साहनीजस्ता अन्वेषक र व्यवहार वैज्ञानिकहरूले विद्यार्थीको कार्यसम्पादन मापनका लागि एक मुख्य तत्त्वका रूपमा दक्षताहरू पहिचान गर्नुपर्ने कुरामा विशेष ध्यान केन्द्रित गरेका छन् । उनले विद्यार्थीको शैक्षिक तथा सामाजिक कार्यसम्पादनमा सुधार गर्न श्रव्य दृश्य इन्फोटेनमेन्ट, सबलिमिनल ट्रेनिङ, ध्यान, स्पिड रिडिङ र मेमोरी गेमजस्ता उपायहरू प्रयोग गर्नुपर्नेमा जोड दिए ।
‘विद्यार्थी समुदायमा विद्यमान शिथिलताहरूको परीक्षण, मूल्यांकन र तिनका समाधानहरू खोज्न सामाजिक–संज्ञानात्मक मनोविज्ञान अध्ययनहरूमा ट्रान्सडिसिप्लिनरी (अन्तरविषयगत) पद्धतिलाई फराकिलो पार्नु आवश्यक छ,’ डा. साहनीले पत्रकारहरू माझ आफ्नो राय व्यक्त गरे । उनी भारतको एक प्रमुख भ्यालु बेस्ड संस्थान जिन्दल इन्स्टिच्युट अफ बिहेभियरल साइन्सेजका प्रमुख पनि हुन् ।
साहनीले ५० भन्दा बढी देशका २ लाखभन्दा बढी विद्यार्थी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, उच्च सरकारी अधिकारी, उद्योग व्यवसायीलाई योग्यता नक्सा, व्यावसायिक सञ्चार, निर्णय लिने क्षमता, तनाव व्यवस्थापन, कार्यसम्पादन अभिवृद्धि, भावनात्मक बुद्धिमत्ता र शिक्षण अभ्यासहरूसम्बन्धी तालिम दिएका छन् । उनले अन्तर्राष्ट्रिय र राष्ट्रिय जर्नलहरूमा ४० भन्दा बढी अनुसन्धानमूलक लेखहरू प्रकाशित गरेका छन् भने १९ पुस्तकहरू पनि लेखेका छन् ।

प्रतिक्रिया