शनिबार, पुष ५, २०८२

ग्लोबल आईएमईको आयोजनामा निःशुल्क शिविर

नेपालखोज २०७९ असार १२ गते १८:१२

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ‘ग्लोबल आईएमई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका ७ स्थित साँख स्वास्थ्य चौकी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १६ स्थित सानीलेख स्वास्थ्य चौकी, बैतडीको पञ्चेश्वर गाँउपालिका ५ स्थित गिरेगाडा स्वास्थ्य चौकी, डोटीको पूर्वीचौकी गाउँपालिकास्थित सानागाउँ स्वास्थ्य चौकी, दार्चुलाको महाकाली नगरपालिका ७ स्थित धाप स्वास्थ्य चौकी र दैलेखको नारायण नगरपालिका ५ स्थित त्रिवेणी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

बैंकद्वारा आयोजित स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञहरूले ७५७ जना महिलालाई स्त्रीरोगसम्बन्धी विभिन्न सेवा निःशुल्क रूपमा उपलब्ध गराएका थिए । नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाउँपालिका÷नगरपालिकाको समन्वयमा बैंकले यी स्वास्थ्य शिविरहरू आयोजना गरेको होे । शिविरमा महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सरको परीक्षण, गर्भाशय प्रोल्याप्सको उपचार तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका एकजना बिरामी र पाठेघरको क्यान्सरको सिकिस्त अवस्था भएका ६ बिरामी पहिचान गरिएका छन् । जसलाई स्वस्थ नारी पहल अभियान कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

यसअघि बैंकले १५औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा सातवटा शिविर सञ्चालन गरेको थियो । बैंकले यो आर्थिक वर्षमा देशभर १४ वटा शिविर सञ्चालन गरेको छ । जसबाट देशका ग्रामीण तथा अर्धसहरी क्षेत्रका १ हजार ६६० महिला लाभान्वित भएका छन् । प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित वा पहुँच नभएका दुर्गम स्थानहरूमा बैंक पुगी यस्ता किसिमका स्वास्थ्य शिविरको आयोजना गर्ने गरेको छ ।

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी आमनागरिकलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ । बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २५२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रतिक्रिया