शुक्रबार, वैशाख १२, २०८२

राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री आह्वान

नेपालखोज २०७९ असार १३ गते १८:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुुसार असार १४ गते पाँचवर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘ज’ (५ वर्षे) बोलकबोलको माध्यमद्वारा बिक्री गर्न लागिएको हो ।

ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले मंंगलबार अपराह्न ३ बजेसम्म आवेदन दिनुुपर्नेछ । राष्ट्र बैंकका अनुसार निष्कासन मिति २०७९ असार १५ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिति २०८४ असार १५ तोकिएको छ ।

खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिनसमेत पाइनेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुुने र आर्जित ब्याजदरमा ब्याजकरसमेत लाग्नेछ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्रमध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलार्ई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड छुट्ट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमका लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारीसमेत राष्ट्र बैंकले दिएको छ ।

खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाका रूपमा मात्र भाग लिन सक्नेछन् । यीबाहेक वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भने अप्रतिस्पर्र्धीका रूपमा भाग लिन पाउने छैनन् ।

प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नुपर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम मात्र उल्लेख गर्नुपर्नेछ ।

प्रतिक्रिया