अविरल वर्षाले जलमग्न बन्यो जनकपुर, व्यवसाय प्रभावित !

जनकपुर । विगत दुई दिनदेखिको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका १० मा रहेका अधिकांश घर डुबानमा परेका छन् ।
पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुखसमेत रहेका स्थानीय किशोरी साहले जानकारी दिए । अधिकांश घरमा पानी जमेपछि स्थानीय बासिन्दा समस्यामा परेका छन् ।
अघिल्लो नगरप्रमुखलाई पानी निकासको समस्याबारे सुनाउँदासमेत कुनै सुनुवाइ नभएकाले आफूहरु बर्सेनि यस्तो समस्या व्यहोर्दै आएको उनको गुनासो छ । आफूहरु भर्खरै निर्वाचित भएकाले पानी निकासको ठोस उपाय गर्न नसकिए पनि अब यसको दिगो समाधानका लागि प्रयास गर्ने उनले बताए ।
यस्तै हिजोदेखिको अविरल वर्षाका कारण जनकपुरधामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, हुलाक कार्यालयलगायत सरकारी कार्यालय परिसरमा पानी जमेको छ ।
अविरल वर्षाका कारण बजारमा चहलपहल घट्दा व्यापार व्यवसायी प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण सरकारी कार्यालयमा आउने सेवाग्राही घटेका छन् । वर्षाका कारण जनजीवन प्रभावित भए पनि अहिलेसम्म मधेस प्रदेशमा कुनै मानवीय क्षति नभएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । बाढीजन्य विपत्का कारण जोखिमयुक्त क्षेत्रको पहिचान गरी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।
यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाले अविरल वर्षा जारी रहेकाले नदी आसपासका स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । कमला नदी र रातुखोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रका स्थानीयवासी सचेत हुनुपर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले आग्रह गरे । -रासस
प्रतिक्रिया