धार्मिकस्थल भ्रमण गर्दा प्रतिपर्यटक औसत खर्च ११ हजार आठ सय रुपैयाँ

नेपालखोज २०७९ असार १५ गते १५:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार प्रदेश १ मा धार्मिक पर्यटनको स्थिति, सम्भावना तथा चुनौती विशेष अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार धार्मिकस्थल भ्रमण गर्दा सर्वेक्षणमा सहभागी प्रतिपर्यटक औसत खर्च ११ हजार आठ सय रुपैयाँ भएको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकहरूको कुल भ्रमण खर्चमध्ये यातायातमा सबैभन्दा बढी ४३ दशमलव तीन प्रतिशत र होटेल (खानासहित) र पूजा तथा उपहार सामग्री खरिदका लागि क्रमशः ३५ दशमलव नौ प्रतिशत र १० दशमलव ६ प्रतिशत खर्च भएको देखिएको छ ।

धार्मिकस्थलवरपर रहेका पूजा सामग्री तथा हस्तकला व्यवसाय सञ्चालन गर्ने ९० प्रतिशत व्यवसायीको व्यवसाय सञ्चालन गर्ने मुख्य आधार धार्मिक पर्यटन रहेको पाइएको छ । धार्मिकस्थल वरपर रहेका पूजा सामग्री तथा हस्तकला व्यवसायको कुल बिक्रीमध्ये पूजा सामग्रीको बिक्री अंश सबैभन्दा बढी ८० प्रतिशत र उपहार तथा हस्तकलाका सामग्रीको बिक्री अंश २० प्रतिशत रहेको पाइएको छ ।

धार्मिकस्थलवरपर रहेका पूजा सामग्री तथा हस्तकला व्यवसायकोे भारित औसत मुनाफा २८ दशमलव चार प्रतिशत रहेको देखिएको छ ।

प्रतिवेदनअनुसार प्रदेश १ को धार्मिकस्थलको भ्रमण गर्ने ४५ प्रतिशत आन्तरिक पर्यटकको मुख्य पेसा नोकरी तथा २५ प्रतिशत पर्यटकको मुख्य पेसा व्यापार रहेको पाइएको छ । सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकमध्ये ६७ दशमलव पाँच प्रतिशतले परिवारका सदस्यसहित धार्मिकस्थलको भ्रमण गरेको देखिएको छ भने परिवारका सदस्यबाहेक अन्य समूहगत रूपमा भ्रमण गर्ने पर्यटक २२ दशमलव पाँच प्रतिशत रहेको पाइएको छ ।

प्रतिवेदनअनुसार धार्मिकस्थलको भ्रमण गर्ने ३० देखि ४५ वर्ष उमेर समूहका आन्तरिक पर्यटकको संख्या सबैभन्दा बढी ४० प्रतिशत र ६० वर्षभन्दा बढी उमेर समूहका पर्यटकको संख्या सबैभन्दा कम १२ दशमलव पाँच प्रतिशत रहेको देखिएको छ । सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकहरूको औसत भ्रमण अवधि दुई दशमलव पाँच दिन रहेको पाइएको छ । सर्वेक्षणमा सहभागी ८० प्रतिशत पर्यटकले आफ्नो मनोकांक्षा प्राप्तिका लागि गरेको भाकल (वाचा) पूरा गर्ने उद्देश्यले धार्मिकस्थलको भ्रमण गरेको देखिएको छ । प्रतिवेदनअनुसार विगत पाँच वर्षमा एकपटक भन्दा बढी धार्मिकस्थलको भ्रमण गरेका सर्वेक्षणमा सहभागी पर्यटकको भ्रमण खर्च अघिल्लोपटकको तुलनामा ४३ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ ।

धार्मिकस्थल वरपर रहेका ६५ प्रतिशत व्यवसायीले व्यापारलाई यथास्थितिमा सञ्चालन गर्ने र ३० प्रतिशत व्यवसायीले क्षमता विस्तार तथा सुविधा थप गर्ने योजना बनाएको पाइएको प्रतिवेदनमा उल्लेख छ । छनोटमा परेका होटेलहरूले कोभिड–१९ महामारीभन्दा अगाडि प्रतिहोटेल औसत पाँचजनाका दरले रोजगारी प्रदान गरेको देखिएको छ भने कोभिड १९ महामारीको दोस्रो लहरपश्चात् प्रतिहोटेल औसत दुईजनाका दरले रोजगारी गुमाएको देखिएको छ । औपचारिक रूपमा तालिम लिई होटेल व्यवसाय सञ्चालन गर्ने व्यवसायी ३० प्रतिशत र सानो व्यवसायका रूपमा सुरुवात गरी प्राप्त अनुभवका आधारमा होटेल व्यवसाय सञ्चालन गर्ने व्यवसायी ७० प्रतिशत रहेको पाइएको छ ।

छनोटमा परेका धार्मिकस्थल वरपर रहेका २० वटा होटेलमध्ये केवल एउटा होटेलले मात्र सेवा प्रवाह गरेबापतको भुक्तानी क्यूआर कोडको माध्यमबाट प्राप्त गर्ने गरेको र बाँकी १९ होटेलमा भुक्तानीको मुख्य माध्यम नगद रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश १ मा पहिचान भएका धार्मिकस्थलमध्ये छनोटमा परेका चार वटामा हुने धार्मिक पर्यटकीय गतिविधिमा संलग्न धार्मिक पर्यटक, पर्यटकस्तरीय होटेलका सञ्चालक, स्थानीय पूजा सामग्री, उपहार तथा हस्तकला व्यवसायी, यातायात व्यवसायी, स्थानीय व्यवसायी, उद्यमी, जनप्रतिनिधि, मन्दिर विकास/व्यवस्थापन समिति र प्रदेश १ मा रहेका धार्मिक पर्यटनसँग सम्बद्ध निकायहरूबाट व्यापार तथा व्यवसायको अवस्था, यातायात सेवाको उपलब्धता, धार्मिकस्थलमा भएका विकास तथा पूर्वाधार निर्माण, विकासका लागि गठन गरिएका विकास/व्यवस्थापन समितिहरूको भूमिका साथै, आन्तरिक तथा बाह्य पर्यटकको आवागमनसँग सम्बन्धित प्राथमिक तथा द्वितीय तथ्यांकसमेतलाई आधार बनाएर राष्ट्र बैंकले प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिक्रिया