शुक्रबार, चैत १६, २०८०

बिमासम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने प्रदेश सरकारको तयारी

नेपालखोज २०७९ असार १५ गते २०:११

काठमाडौं । बिमा समितिको आयोजनामा आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बुटवलमा लुम्बिनी प्रदेश सरकारसँग बिमासम्बन्धी अन्तर्क्रिया गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले बिमासम्बन्धी नीतिगत व्यवस्थाका साथ धेरै कार्यक्रमहरू ल्याएको र अब ती कार्यक्रमहरूको कार्यान्वयनमा जोड दिने बताए ।

मुख्यमन्त्री केसीले बिमा कम्पनीहरूबाट बिमा दाबी भुक्तानी नभएको भन्ने धेरै गुनासाहरू आउने गरेको उल्लेख गर्दै समयमै सहजरुपमा बिमा दाबी पाउने व्यवस्था गर्न र बिमा कम्पनीहरूमा सुशासन कायम गर्न आग्रह गरे । उनले बिमाको दायरा विस्तारका लागि बिमासम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिन र बिमा समितिको प्रदेश कार्यालय विस्तार गर्न पनि आग्रह गरे ।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले विपतका समयका लागि छुट्याएको रकमबाट नागरिकको जीवन तथा सम्पत्तिको बिमा गर्न सकिने र त्यसरी गरिएको बिमाबाटै विपतका समयमा हुने क्षतिको क्षतिपूर्ति हुने जानकारी दिए । अध्यक्ष सिलवालले प्रदेश सरकारले नागरिकका साथै सरकारी सम्पत्तिको बिमा गराउन पहल गर्नुपर्ने उल्लेख गर्दे बिमालाई सेवा प्रवाहसँग जोडेर पनि बिमाको पहुँच विस्तार गर्न सकिने बताए ।

कार्यक्रममा बिमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बिमासम्बन्धी समग्र विषयवस्तु समेटिएको प्रस्तुति गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयका प्रमुख सचिव, विभिन्न प्रदेश मन्त्रालयका सचिव, बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, बिमा समितिका सहायक निर्देशक केदारनाथ भट्ट, विभिन्न बिमा कम्पनीका प्रदेशस्थित शाखा कार्यालयका प्रमुखहरूलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया