म्याग्दीमा वन्यजन्तु पीडितलाई राहत

म्याग्दी । वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले रु. चार लाख ६० हजार राहत पाएका छन् । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ ।
निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले चितुवाको आक्रमणबाट मरेका ५० पशुका धनीलाई राहत उपलब्ध गराइएको जानकारी दिए ।
वन्यजन्तु पीडित कृषकलाई राहतका अतिरिक्त मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका ब्रोसर वितरणका साथै सचेतनामूलक गोष्ठीसमेत आयोजना गरिएको छ । वन्यजन्तुका लागि दश सामुदायिक वनमा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रतिपोखरी रु. एक लाखका दरले पोखरी निर्माण गरिएको हो । बेनी नगरपालिका–९ को गलेश्वर ठुलो सल्लेरी र घोर्लास, धौलागिरि–७ को धारापानी, रघुगङ्गा–२ को कृष्ण तालावन्दी, मङ्गला–२ को सल्यान सल्लेरी र भदौरेपाखा, रघुगङ्गा–८ को उत्तिसिने, बेनपा–५ को भेडाखोर, पानी पधेरो देपुर्ने आटी, मङ्गला–३ र ४ को टाड बिसाउना सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।
बेनी–२ खबराको ठुलोगैरा सामुदायिक वनमा जिल्लामै पहिलोपटक औषधीय गुणयुक्त विजयसाल प्रजातिको वनस्पतिको ४० बिरुवा रोपिएको छ । विजयसाल लोपोन्मुख र संरक्षित वनस्पति हो । समुद्री सतहदेखि एक हजार मिटरको उचाइसम्म हुने विजयसालका लागि म्याग्दीको तल्लो क्षेत्रमा उपयुक्त मौसम र वातावरण भएकाले परीक्षण गरिएको वन डिभिजन कार्यालयले जनाएको छ । विजयसालको भाडोमा राखेको पानी सेवन गर्नाले पेटसम्बन्धी रोग निको हुने विश्वास गरिन्छ ।








प्रतिक्रिया