मंगलबार, वैशाख ४, २०८१

‘कम्युनिस्ट पार्टीसँग नेपाली जनता आजित र दुःखी भएका छन्’

शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल हुनुहुन्छ, शेखर कोइराला समूहले निकालेको निष्कर्षमा म असहमत छु : रमेश लेखक

नेपालखोज २०७९ असार १८ गते १७:२५

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको दाबी गरेका छन् ।

राजधानीमा आज (शनिबार) आयोजित साक्षात्कारमा उनले पार्टी सभापति एवं प्रधानमन्त्री देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको कुरा कामबाटै प्रमाणित भएको बताएका हुन् । उनले जे उद्देश्यले सरकार गठन भएको हो अहिले सोहीअनुरूप काम भइरहेको जिकिर पनि गरे । ‘अहिलेको सरकार विशेष राजनीतिक परिवेशमा, विशिष्ट जिम्मेवारी बोकेर निर्माण भएको हो । तत्कालीन नेकपाको सरकार खासगरी तत्कालि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले संविधान भत्काउने काम गरिसकेपछि, पटक–पटक प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई अन्योल र अस्थिरतातर्फ लिएर जाने काम गरेको थियो,’ उनले भने, ‘संविधान भत्काउने काम गरेको थियो, हामीले अत्यन्तै ठूलो त्याग, तपस्या र मिहिनेतले बनाएको संविधान नै निष्प्रभावी हुनेगरी अघिल्लो सरकारले काम गर्न थाल्यो, त्यसको विरुद्ध अहिलेको सरकार बनेको हो ।’

उनले वर्तमान गठबन्धनको मुख्य जिम्मेवारी भनेको संविधान रक्षा गर्नु रहेको स्मरण गर्दै अहिले सोहीअनुसार काम भइरहेको दाबी गरे । उनले भने, ‘सरकारले आवधिक निर्वाचनलाई महत्त्व दिएको छ । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ, अहिले मुलुक संविधान निष्प्रभावी हुने खतराबाट जोगिएको छ ।’

पूर्वमन्त्री लेखकले पार्टीको महाधिवेशन भएको ६ महिना बितिसक्दा पनि विधान बनाउने, पदाधिकारी नियुक्त गर्ने र कार्यसमितिलाई पूर्णता दिने काम बाँकी रहेकाले अब छिटै ती काम पनि सम्पन्न गरिने विश्वास दिलाए ।

उनले भने, ‘महाधिवेशन भएको ६ महिना भयो । विधानले ६ महिनाभित्र विधान बनाइसक्नुपर्ने, पदाधिकारी नियुक्त गरिसक्नुपर्ने, कार्यसमितिलाई पूर्णता दिनुपर्ने कुरा गरेको छ । महाधिवेशनलगत्तै हामी स्थानीय तहको निर्वाचनमा प्रवेश गर्यौं । पार्टीका केही काम गर्न ढिलाई भएको छ । विभाग गठनका कुरा, कार्यसमितिलाई पूर्णता दिने कुरा अनि पदाधिकारीलगायत सबै विषयमा केही ढिलाइ भएको छ । अब चाँडोभन्दा चाँडो यी काम पूरा गर्नुपर्छ ।’

उनले सभापति देउवाले काम गर्न नसकेको कुरामा कुनै सत्यता नभएको उनको दाबी छ । उनले भने, ‘उहाँबाट सरकार र पार्टी दुवै मोर्चामा क्रियाशीलताका साथ काम भएका छन् । सरकार र पार्टीभित्र असफल भएको छ भन्ने कुरा होइन भन्ने आग्रह गर्न चाहन्छु ।’

उनले शेखर कोइराला समूहले पार्टी सभापतिबारे निकालेको निष्कर्षमा आफ्नो सहमति नभएको टिप्पणी गरे । उनले भने, ‘पार्टीभित्र विभिन्न विषयमा छलफल हुने गर्छन् । विभिन्न कोणबाट साथीहरूले छलफल गर्नुहुन्छ । केही साथीहरूले सरकारले सफलतापूर्वक काम गर्न नसकेको, अनि पार्टीमा सभापतिले ठीक ढंगले काम गर्न नसकेको निष्कर्ष निकाल्नुभएको छ, त्यो निष्कर्ष पूर्ण रूपले ठीक छैन् । सरकारको हामीले ठीक ढंगले मूल्यांकन गर्नुपर्छ । जे कामको लागि सरकार गठन भएको थियो, त्यहीअनुसार काम गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महँगीको विषय छ, अन्तर्राष्ट्रिय घटनाक्रमसँग पनि जोडिन्छ । कांग्रेस ठीक ढंगले नचलेको भए कसरी पहिलो दल बन्यो त ? नेतृत्व सफल भएको छ । पार्टी कमजोर र क्रियाशील नभएको भन्ने साथीहरूको जो धारणा छ, त्यससँग सहमत हुन सकिँदैन । सामान्य कमी–कमजोरी सुधार गर्नुपर्छ ।’

उनले शेखर कोइराला समूहले भागबण्डाको राजनीति गर्न खोजेको कुरा मिडियामा आएको उल्लेख गर्दै सुरुमा कोइराला समूहले भागबण्डाको अन्त्यको आवाज उठाएको बताए । उनले भने, ‘उहाँहरूले पार्टीको महाधिवेशनमा निर्वाचन लड्दा, भागबण्डाको राजनीतिक समाप्त हुन्छ भन्नुभएको थियो । अहिले अखबारमा सुनेको छु ४० प्रतिशतको भागबण्डा खोज्ने भनेर । छलफल र भेला गर्ने कुरा स्वभाविक हो । उहाँहरूको निष्कर्ष र निक्र्योल्सँग म व्यक्तिगत रूपमा सहमत हुन सक्दिनँ ।’

उनले आगामी निर्वाचनमा कांग्रेस एकताबद्ध भएर जाने धारणा राखे । उनले भने, ‘जनताले हाम्रो पार्टीसँग भरोसा गरेका छन् । कम्युनिस्ट पार्टीसँग नेपाली जनता आजित भएका छन् । दुःखी भएका छन् । चित्त दुःखाएका छन् । निर्वाचनको बेलामा मिल्ने, अनि चुनाव जितेपछि आफ्नो सरकार आफैं ढाल्ने काम पनि भएका छन् । नेकपा एमालेले सरकारमा हुँदा जुन काम गर्यो, जनता असन्तुष्ट छन् । अहिले जनताले कांग्रेसतर्फ आशा र भरोसा गरेका छन् । एकताबद्ध, संगठित र अनुशासित भएर अघि बढ्नुपर्छ । सम्भावित विवादलाई सरसल्लाह गरेर टुंगोमा पुर्याउनुपर्छ ।’

नेता लेखकले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर अघि बढ्ने बताए । उनले भने, ‘केन्द्रमा गठबन्धनको सरकार छ । विभिन्न प्रदेशमा मिलीजुली सरकार छन् । स्थानीय तहको निर्वाचनमा पनि तालमेल भएको छ । आउने निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल भइरहेको छ । तर, यो छलफलले मुर्त रूप लिन सकेको छैन । गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने सम्भावना छ ।’

प्रतिक्रिया