शुक्रबार, वैशाख ७, २०८१

अन्धो प्रेम !

नेपालखोज २०७९ असार २१ गते ११:१९

भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमको गहिराइमा डुबिसकेपछि जायज/नाजायज, धर्म/अधर्म, पाप/पुण्य वा सत्य/असत्य सबै त्यागेको हुन्छ । उसको अगाडि केवल उसको प्रेमी वा प्रेमिका मात्र हुने गर्छ । जसको लागि उसले संसार बिर्सेको हुन्छ । यो केवल कथा कहानीको पात्रमा मात्र होइन वास्तविक जीवनमा पनि हुने गर्छ । यस्तै कथा बेलायतका राजा एडवर्ड आठौंको पनि छ । युवराज छँदै विवाहित युवतीसँग विवाह गरेका युवराज एडवार्ड १६ वर्षे वैवाहिक जीवनपछि एउटी अर्की विवाहित महिलाको प्रेममा फस्छन् ।

अमेरिकामा जन्मेका वेलिस सिम्पसनको साथ बसिरहेका युवराज वि.सं. १९९२ माघ ७ मा बुबा राजा जर्ज पाचौंको मृत्युपछि राजा एडवर्ड आठौं बने । उनले वेलिस सिम्पसनसँग नै विवाहको सोच बनाए । राजा बनेपछि ऊ प्रतिको विरोधको भावहरु बढ्दै गयो । अमेरिकी नागरिक रहेकी वेलिस सिम्पसनलाई रानी स्वीकार्न धेरैले चाहेका थिएनन् । उनले विभिन्न कानुन बनाउँदै आफूलाई शक्तिवान बनाउने सोच बनाउन थाले ।

तर यसले झन उल्टो असर गर्‍याे । वेलिस सिम्पसन माथि जर्मनको जासुस भएको आरोप पनि लाग्यो । अन्तमा राजासामु अप्ठेरो परिस्थिति सिर्जना भयो । कि उनले वेलिसलाई त्याग्ने वा विवाह गर्ने र राज्य त्याग्ने वा मन्त्रीमण्डलको राजीनामापछि सिर्जिने समस्यालाई झेल्ने । धेरै सोचपछि उनले वेलिसलाई त्याग्न नसक्ने निर्णय गरे ।

अन्तत वि.सं. १९९३ मंसिर २५ गतेको बिहान १० बजे उनले राजगद्दी त्यागेको घोषणा गर्दै राजीनामा बुझाए । सो पत्रमा तीनजना भाइले पनि साक्षीका रुपमा हस्ताक्षर गरेका थिए । यसपछि उनका भाइ अल्बर्ट राजा जर्ज छैटौं बने । जो अहिलेका बेलायती महारानी एलिजाबेथ द्वितीयका बाबु हुन् ।

राज्य त्यागेपछि एडवर्ड ड्युक अफ विन्डसरका रुपमा आफ्नो जीवन बिताउन लागे । यसको केही समयपछि २१ जेठ १९९४ मा एडवर्डले वेलिससँग विवाह गरे । विवाहको केही समयपछि नै राजा बनेका आफ्नो भाइले उनको राजकीय सम्मानहरु खोसे । साथै उनले देश छोडेर फ्रान्स गए ।

पछि आफ्नो सम्पूर्ण जीवन अमेरिकाको मियामीनजिकैको सानो टापु बाहामाजमा बिताए । त्यही उनको १५ जेठ २०२९ मा निधन भयो । यसपछि १४ वर्ष एक्लो जीवन बिताएर २०४३ को वैशाखमा वेलिसको निधन भयो । अहिले प्रिन्स ह्‌यारीसँग विवाह बन्धनमा बाँधिएर राजपरिवारको सदस्य बनेकी मेगन मर्केल पनि अमेरिकी नागरिक हुन् । उनको अधिकार भविष्यमा बेलायती राजपरिवारमा कस्तो रहनेछ भन्ने पछि नै देखाउनेछ ।

प्रतिक्रिया