सोमबार, वैशाख १७, २०८१

सिँचाइको व्यवस्थासँगै भरतपुरका जमिन चैते धानले हराभरा

नेपालखोज २०८० चैत १३ गते ८:५०

चितवन । केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे ।

भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते धान रोप्न थालेको बताए । उनले भने, ‘पहिले यहाँ तीन बिघा जमिन हुने, एक कठ्ठा घोल खेत हुनेभन्दा गरिब गनिन्थे ।’ कतिपयले त विवाह गरेर छोरी दिनुपर्दा टाँडी जमिन हुनेलाई दिनसमेत हिच्किचाउने गरेको उनले बताए । उनले भने, ‘कुनै बेला सिँचाइ अभावमा खेती नहुने पश्चिम चितवनका टाँडीमा बोरिङसँगै खेती हराभरा हुन थालेको छ ।’

भरतपुर महानगरपालिका–२७ नयाँपटिहानीका जीवन महतो आइतबार मध्याह्न खेतमा पानी पटाउन तल्लीन थिए । उनले करिब दुई बिघा क्षेत्रफलमा लगाउनुभएको धानखेतीलाई सिँचाइका लागि बोरिङ सञ्चालन गरेर पानी पटाउँदै थिए । उनले भने, ‘सिँचाइका कारण अहिले हाम्रो जीवनमा नै परिवर्तन आएको महसुस गरेका छौँ ।’ सिँचाइ भएसँगै यस क्षेत्रमा बिगौँबिघा धानखेती गर्न किसान आकर्षित भएको उनले बताए ।

स्थानीय किसान हठन महतो पहिला दुई बाली मात्रै लगाइने आफ्नो जमिनमा तीन बाली खेती गर्न थालेको बताउनुहुन्छ । सिँचाइको समस्या हुँदा आकासे पानीको भरमा धान, मकै, तोरीजस्ता बाली लगाउँदै आएको बताउने उन अहिले आफ्नो १० कठ्ठा जग्गामा चैते धानखेती गरिरहेका छन् ।

प्रतिक्रिया