नेपाल-चीन लगानी सम्मेलनका लागि सहयोग गर्न एफएनसीसीआईको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले बेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन् ।
कार्यवाहक अध्यक्ष ढकाल र जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठबीच बिहीबार महासंघ सचिवालयमा भएको औपचारिक भेटवार्तामा यस्तो आग्रह गरेका हुन् । ‘महासंघले सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखी आयोजना गर्न चाहेकाले त्यहाँ रहेर आवश्यक सहयोग गरिदिने कार्यमा राजदूतबाट नेतृत्वदायी भूमिकाको हामीले अपेक्षा गरेका छौं,’ कार्यवाहक अध्यक्ष ढकालले भने । नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्न आवश्यक रहेकामा पनि उनको विशेष जोड थियो । कोभिडपछि आएको विश्वव्यापी मन्दीको परिवेशमा नेपालको बैंकिङ प्रणालीमा टेवा पुर्याउन पनि चिनिया लगानी ल्याउने कार्यमा हाम्रो कूटनीति सक्रिय रुपमा लाग्नुपर्ने उनको सुझाव थियो । कार्यवाहक अध्यक्ष ढकालले नेपाली वस्तुहरूको चीनमा निर्यात प्रवर्द्धन गर्ने कार्यमा र नेपालमा चिनियाँ पर्यटन बढाउन राजदूतावासको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताए ।
कार्यवाहक अध्यक्षले महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनियाँ परिषद्बीच प्रगाढ सम्बन्धलाई थप उपलब्धिमूलक बनाउनुपर्नेमा पनि जोड दिए र त्यसमा सहयोग गर्न राजदूतसमक्ष आग्रह गरे ।

महासंघ सहसभापति रहेको दुवै देशका सरकारको सहयोगमा सन १९९६ मा स्थापित नेपाल-चीन गैरसरकारी सहयोग मञ्चमार्फत समेत दुई देशबीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी, प्रविधि, शीप आकर्षणमा सहकार्य गर्न महासंघ तयार रहेको र त्यसमा हाम्रो कूटनीतिक तवरबाट पनि सहयोग हुनुपर्नेमा उनको जोड थियो । सो अवसरमा राजदूत श्रेष्ठले महासंघसंगको भेटघाट उपलब्धिमूलक भएको बताए ।
उनले भेटवार्ताका क्रममा महासंघबाट आएका सुझाव आफूले प्राथमिकताका साथ अगाडि लैजाने विश्वास दिलाए । उनले कृषि क्षेत्रको विकासका लागि सहकार्य गर्न चिनियाँ प्रविधि तथा लगानी भित्र्याउनुका साथै अनुसन्धानमा सहकार्य गर्ने आफ्नो प्राथमिकताको एक पक्ष रहेको पनि सुनाए । साथै उनले नेपाली वस्तुको माग रहेका चीनका लक्षित प्रान्त एवं बजारसँग आर्थिक व्यावसायिक सम्बन्ध गाँस्ने रणनीतिसहित नेपाली निर्यात चीनमा बढाउने आफ्नो योजना रहेको उनले बताए ।
भेटवार्तामा महासंघका पूर्वअध्यक्ष एवं नेपाल-चीन गैरसरकारी सहयोग मञ्चका सहसभापति विनोदबहादुर श्रेष्ठ, महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र उपनिर्देशक अरुण श्रेष्ठको उपस्थिति थियो ।


प्रतिक्रिया