‘युवा पलायन रोक्न सामाजिक सुरक्षाका योजनालाई प्रभावकारी बनाउनुपर्छ’

नेपालखोज २०७९ असार २३ गते १८:४१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले वैदेशिक रोजगारका लागि ठुलो संख्यामा युवाहरु पलायन हुने क्रम बढिरहेकोले युवा पलायन रोक्नका लागि सामाजिक सुरक्षाका योजनाहरुलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज राजधानीमा आयोजना गरेको ‘सामाजिक संरक्षणको दिगोपनाको लागि सामाजिक सुरक्षा कोषको भूमिकां’ विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले सो कुरा बताएका हुन् ।

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई सबल, सक्षम बनाउने कार्यमा सरकार सक्रिय भएको दाबी गरे । उनले ‘जनतालाई सहुलियत दिने गरी ऐन कानुनहरु सिर्जना गरी जनप्रेमी र जनताको हित हुने खालका योजनाहरु सार्वजनिक गछौं ।’ पछिल्लो समय युवा पलायन बढ्दा मुलुकको आयातमा मात्र भर पर्नुपरेको भन्दै यसले विदेशी मुद्राको सञ्चिति ह्रास आएको र राजस्वमा समेत गम्भीर असर पर्ने गरेकोप्रति चिन्ता व्यक्त गरे ।

उनले भने, ‘युवा पलायन रोकिनुपर्दछ, युवालाई उद्यमी र स्वरोजगारमुखी कार्यमा लगाउनुपर्दछ जसका लागि सामाजिक सुरक्षा कोषले आकर्षक कार्यक्रमहरु तर्जुमा गर्नुपर्छ ।’ उनले पत्रकार र कलाकारहरुको समेत समाजमा ठुलो योगदान रहने भएपनि उनीहरुको भविष्य अन्धकार हुने गरेकाले पत्रकार र कलाकारहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्नेमा जोड दिए ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा श्रम मन्त्रालयका सचिव एक नारायण अर्यालले १७ हजार रोजगारदाता संस्था रहेको मध्ये पाँच हजार संस्थाले मात्र सामाजिक सुरक्षा कोषमा आवद्धता जनाएकोले सबै रोजगारदाता कम्पनीहरुलाई कोषमा आवद्ध हुन आग्रह गरे ।

सचिव अर्यालले योगदानकर्ताले जीवनको उत्तरार्धमा पेन्सन पाउँछ, दुर्घटना हुँदा उपचार पाउँछ, घर बनाउँदा सहुलियत ऋण पाउँछ, बच्चा पढाउन पैसा पाइन्छ, त्यसैले सामाजिक सुरक्षा कोष आम श्रमिकवर्गका लागि जीवनपयोगी छ भन्दै सबै श्रमिकहरुलाई कोषमा आवद्ध हुन आग्रह गरे । आगामी आर्थिक वर्षको सुरुवातदेखि नै थप प्रभावकारि सामाजिक सुरक्षा कार्यक्रमहरु ल्याउने सचिव अर्यालले उद्घोष गरे ।

उनले ‘भदौ १ गते देखि लागु हुने योगदानकर्तालाई घर बनाउन सहुलियत ऋण उपलब्ध गराउछौं, त्यसैगरी बैदेशिक रोजगारमा गएका श्रमिकहरुलाई सामाजिक सुरक्षमा आवद्ध गराउछौं, संविधानले सुनिश्चित गरेको श्रमिकहरुको हतहितका कार्यक्रमहरुलाई कार्यान्वयनमा तहमा लैजान्छौँ, श्रमिक र रोजगारदाताहरुका सहजीकरण गर्ने गरी मिटिङ्ग प्वाइन्ट बनाउँछौ ।’ पछिल्लो समय ४५ लाख युवाहरु बैदेशिक रोजगारमा भएका जानकारी गराउनुहुँदै उनीहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन नेपाल सरकार र श्रम मन्त्रालय सक्रिय भएर लागेको जानकारी गराए ।

कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले पछिल्लो सामाजिक सुरक्षाको आवश्यकता र महत्वको विषयमा चर्चा गरे । हालसम्म तीन लाख ५० श्रमिकहरुले कोषमा योगदान गरिरहेका छन् भने अन्य श्रमिकहरु पनि आउने क्रम जारी रहेको जानकारी गराए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सुरक्षा कार्यक्रममा आम श्रमिकहरुलाई सहभागि गराउनका लागि पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताए ।

अध्यक्ष बस्नेतले भने, ‘सामाजिक सुरक्षा कोष अन्र्तगतका कार्यक्रमहरु श्रमिकहरुको हितमा भएकाले त्यस्ता कार्यक्रमहरुलाई पत्रकारले प्राथमिकताका साथ प्रकाशित गर्नुपर्छ, सामाजिक सुरक्षाको फाइदाका विषयमा जानकारी गराउनु पर्दछ ।’ उनले न्यू मिडियाले जनमानमा कस्ता सूचना पस्किने भन्ने विषयमा जानकारी नहुँदा सरकारले ल्याएका राम्रा कार्यक्रमहरुका विषयमा जनताले जानकारी समेत नपाएको बताउँदै रचनात्मक सूचना तथा समाचारहरु प्रकाशित गर्न सञ्चार जगत्लाई आग्रह गरे । कार्यक्रममा उपत्यकाका प्रजिअहरुमध्येबाट उत्कृष्ट काम गर्न सफल ललिपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले नेपालम सामाजिक सुरक्षा अति आवश्यक रहेको बताए ।

उनले ललितपुरमा एक श्रमिकमाथि रोजगारदाता कम्पनीले गरेको दर्दनाक घटनाको विषयमा बेलिविस्तार लगाउँदै नेपालमा श्रमिक वर्ग पिडामा रहेकाले उनीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सूचना विभागका महानिर्देशक गोगन हमालले अरुको हक हितका काम गर्ने पत्रकारहरु समेत अति कम पारिश्रमिक लिएर काम गरिरहेको बताउँदै पत्रकारहरुको पारिश्रमिक बढाउन र सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनका लागि विभाग सक्रिय रहेको जानकारी गराए ।

कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले आफ्नो विभागबाट सामाजिक सुरक्षा कोषसँग मेल खाने धेरै कार्यक्रमहरु अगाडि बढाएको बताए । वैदेशिक रोजगार विभागका महानिर्देशक शेष नारायण पौडेल, श्रम विभागका महानिर्देशक उमाकान्त आचार्य, बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल लगायतले सामाजिक सुरक्षाको महत्व र आवश्यकताका विषयमा औल्याए ।

दुर्गाप्रसाद चौलागाईंले गर्नुभएको कार्यक्रममा नेपाल सरकारका पूर्व प्रशासक लगायत वरिष्ठ पत्रकारहरु, श्रमिक क्षेत्रका प्रतिनिधिहरु लगायत सयौंको संख्यामा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया