सडकमा लेन अनुशासन थप कडाइ गर्दै ट्राफिक

काठमाडौं । राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारीचालकलाई ट्राफिक प्रहरीले कारवाहीलाई तीव्रता बढाएको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले आजबाट लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेन भन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए ।
‘सडकमा हतार गरी अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौं ।’ उनले भने । ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पहिलोपटक पाँच सय, दोस्रो पटक एक हजार र तेस्रो पटक पछि एक हजार पाँच सय जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ ।
यस आवमा १२ हजार आठ सय ६८ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा दिइसकेको छ । ट्राफिक प्रहरीले सीसीटिभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेन अनुशासनको अनुगमन गरी कारवाही गर्दै आएको छ ।
सीसीटिभीबाट पनि लेन अनुशासन कायम नगरेको भेटिएमा सवारीसाधनको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठी पठाएर जरिवाना समेत गर्ने गरेको छ ।
लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने भएकोले लेनको सही प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया