श्रीलंकाली राष्ट्रपतिको राजीनामा घोषणा : खुसीयाली मनाउँदै प्रदर्शनकारी

कोलम्बो । राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेपछि प्रदर्शनकारी खुसी भएका छन् । प्रदर्शनकारीहरू शनिबार प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ-आफ्ना भवनहरूमा थिएनन् । आर्थिक अव्यवस्थाको विरोधमा श्रीलंकामा महिनौँयता प्रदर्शनहरू जारी छन् । शनिवार ठूलो सङ्ख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारीहरूले राजपक्षको राजीनामाको माग दोहोर्याएका थिए । राष्ट्रपति राजपक्षले आगामी बुधवार राजीनामा दिने जानकारी गराएका छन् । प्रधानमन्त्री रनिल विक्रमासिङ्ग यस अघिनै राजीनामा दिन सहमत भएका छन् ।

संसद्का सभामुखले सत्ताको शान्तिपूर्ण हस्तान्तरणका लागि राष्ट्रपतिले राजीनामा दिने निर्णय लिएको जानकारी गराएका छन्। उनले जनतालाई कानुनको सम्मान गर्न पनि आह्वान गरेका छन् । शनिवारको घटनापछि अमेरिकाले श्रीलंकाली नेतृत्वलाई देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आह्वान गरेको थियो । शनिवारको प्रदर्शनमा दर्जनौँ घाइते भएका थिए । कोलम्बोस्थित मुख्य अस्पतालका प्रवक्ताले उपचाररतमध्ये कम्तीमा तीन जना गोली लागेका घाइते रहेको एएफपी समाचार संस्थासँग बताएका छन् ।

श्रीलंकाले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ । दक्षिण एसियाली टापु देशले भोगिरहेको यो संकट विगत ७० वर्षयताकै सबैभन्दा खराब हो । विदेशी मुद्राको सञ्चिती रित्तिएपछि यहाँ निजी सवारी साधनका लागि पेट्रोल र डिजल बेच्न प्रतिबन्ध लगाइएको छ। मानिसहरू इन्धनका लागि कैयौँ दिनसम्म लाइन लाग्न बाध्य भएका छन् । महिनौँदेखि भइरहेका शान्तिपूर्ण प्रदर्शनहरूपछि शनिवार राजधानीमा प्रदर्शनकारीहरू एकत्रित भएका थिए र उक्त प्रदर्शनले असाधारण रूप लिएको थियो । राष्ट्रपति भवनमा जम्मा भएको ठूलो भिड अवरोधहरू हटाएर भवनभित्रै प्रवेश गरेको थियो ।
सार्वजनिक भएका भिडिओहरूमा मानिसहरू भवनभित्र घुमिरहेका र राष्ट्रपतिको पौडी पोखरीमा प्रदर्शनकारीहरू पौडी खेलिरहेको देखिन्छ । कतिपय प्रदर्शनकारीहरूले दराजसमेत फुटाएर राष्ट्रपतिका कतिपय सामानहरू लिए भने राष्ट्रपतिले प्रयोग गर्ने विलासी स्नान गृह लगायतका सामानहरू प्रयोगको मजा समेत लिए ।

शनिवारको पूर्व निर्धारित प्रदर्शनअघि नै राष्ट्रपति राजपक्षले शुक्रवार आफ्नो निवास छोडेको रक्षा स्रोतहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । उनी आफ्नो सरकारी निवास नजिकै रहेको अलग घरमा सुत्ने गरेका थिए । निवास छाडेका राष्ट्रपति राजपक्ष कहाँ छन् भन्ने बीबीसीले यकिन गर्न सकेको छैन । टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलंका सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो । त्यहाँको जनसङ्ख्या २.२ करोड छ। तीनवटा जातीय समुदाय- सिन्हाली, तमिल र मुस्लिमले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन् ।
शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलंकामा वर्षौँदेखि शासन गरिरहेका छन् । लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसंख्यक सिन्हालीहरूबीच नायक भए । त्यतिबेला रक्षामन्त्री रहेका उनका भाइ गोटाबय राजपक्ष अहिले राष्ट्रपति छन् ।
आर्थिक सङ्कटले आक्रोशः अहिले श्रीलंकाली जनताहरू आक्रोशित छन्। त्यहाँ सहज आपूर्ति हुन नसकेसँगै महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडसेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन् । -बीबीसी
प्रतिक्रिया